जुम्ला,माघ ०२। नेपाली खस भाषाको उदग्म थलो जुम्लामा खस भाषामा पठनपाठन सुरु गरिएक छ। यहाँको तातोपानी गाउँपालिकाले खस भाषामा पठनपाठन सुरु गरेको हो।
यहाँका २५ विद्यालयमा स्थानीय खस भाषमा पाठ्यपुस्तक निर्माण गरी पठनपाठन सुरु भएको गाउँपालिकाले जनाएको छ। लोपोन्मुख खस भाषालाई जोगाउनका लागि गाउँपालिकाले पाठ्यपुस्तक तयार गरी विद्यालयमा पढाउने व्यवस्था गराएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए।
गाउँपालिका भरीका २८ विद्यालय मध्ये २५ विद्यालयको १ देखि ३ कक्षामा शैक्षिक सत्र ०७५र०७६ मा अध्ययन अध्ययन सुरु गरिएको थियो। आगामी फागुन महिनादेखि सुरु हुने नयाँ शैक्षिक सत्र ०७६र०७७ मा ४ र ५ कक्षामा पनि पठनपाठन सुरु हुने तातोपानी गाउँपालिका शिक्षा शाखाका प्रमुख छायादत्त चौलागाईले बताए। आगामी नयाँ शैक्षिक सत्रमा कक्षा १ देखि ५ सम्मका ३ हजार ८ सय ५१ विद्यार्थीले खस भाषाको पाठ्यपुस्तक अध्ययन गर्ने छन्।
स्थानीय खष भाषामा आधारित पाठ्यपुस्तकको अध्ययन हुने भएपछि पुरानो संस्कार र संस्कृतिको संरक्षण हुने अपेक्षा गरिएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए। कक्षा १ को स्थानीय पाठ्यपुस्तकमा प्राकृतिक स्थल, तातोपानी धारा, भण्डार वन, भुरीचुला, नदै डाव, बुदबुदी धाम, इमिल्च्या मन्दिर, सुन्दरगाउँ मष्टो मन्दिर, बाबिरा मष्टो मन्दिर, ठाकुर ज्यू मन्दिर, ऐतिहासिक गुरुफोक्टो, बानिया दियार, लछालकृतिक पैकेलो र दरबार जस्ता विषयबस्तु समेटिएको शिक्षा शाखा प्रमुख चौलागाईले बताए।
त्यसैगरी २ र ३ कक्षाको पाठ्यपुस्तकमा पनि प्राकृतिक धार्मिक र ऐतिहासिक सम्पदा सहित कालीमार्सी धान, फापर, कागुनो, स्याउ, सिमिलगायत स्थानीय कृषिजन्य बाली पाठ्यपुस्तकमा समेटिएको छ । यार्सागुम्बा, घुच्चीच्याउ, भूल्तया, हात्तिजडा जस्ता जडीबुटी सम्बन्धि पाठ्यपुस्तकमा विषयबस्तु राखिएको गाउँपालिकाले जनाएको छ। पाठ्यपुस्तकमा समेटिएका ऐतिहासिक, पर्यटक, धार्मिक सम्पदा र रैथाने बालीको परिचय, महत्वलाई खस भाषाबाट झल्काइएको छ।
तातोपानी गाउँपालिकामा रहेका धार्मिक, पर्यटन, कृषि र जडीबुटी विषयलाई पाठ्यपुस्तकमा समावेश गरिएको उनको भनाई छ। तातोपानी गाउँपालिका वडा नम्बर ५ श्रीनगरस्थित कालिका आधारभुत विद्यालयका प्रधानाध्यापक छायादत्त खत्रीका अनुसार गाउँपालिकाले स्थानीय खस भाषामा यहाँका पर्यटकीय तथा धार्मिक सम्पदा र स्थानीय रैथाने कृषिजन्य बस्तु समटिएको पाठ्यपुस्तकले बालबालिकालाई ज्ञान हासिल गर्ने मौका मिलेको बताए। यस्तै चन्दननाथ नगरपालिकाले समेत खस भाषामा पाठ्क्रम निर्माण सुरु गरेको छ।