काठमाण्डौं, माघ २ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो मातहतका कार्यालयसँग जानकारी बिना लगातार ६० दिन बढी अनुपस्थित हुने कर्मचारीको विवरण मागेको छ।
मन्त्रालयले स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभाग, प्रतिष्ठान, अस्पताल तथा मन्त्रालय मातहतका सबै कार्यालयसँग बिना जनाकारी दुई महिनासम्म हराउने कर्मचारीको विवरण मागेको हो।
मन्त्रालयले यी कार्यालयहरूलाई पत्र लेख्दै विवरण एक हप्ताभित्र उपलब्ध दिर्देशनसमेत दिएको छ। कर्मचारी समायोजन लफडामा परेपछि स्वास्थ्य मन्त्रालय र मातहतका कार्यालयमा कर्मचारी लगातार लामो समय अनुपस्थित हुने क्रम बढेको बताइएको छ।
कसैले गुनासो भरेको, कसैले नाम थर र पद फरक परेको, कोहीले तह नमिलेको भन्दै धेरै कर्मचारीहरु अनुपस्थित रहेका छन्। यसले कतिपय स्थानमा सामान्य स्वास्थ्य सेवासमेत अवरुद्ध भएको छ।
मन्त्रालयले लगातार ६० दिन बढी विना जानकारी अनुपस्थित हुने कर्मचारीहरूको नाम थर, पद, संकेत नम्बर र अनुपस्थित भएको मिति ७ दिनभित्र उपलब्ध गराउन सम्वन्धित कार्यालयलाई भनेको छ।