काठमाण्डौं, माघ २ । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको संवादहीनता हटेको छ। गत आइतवारदेखि दुई अध्यक्षबीच देखिएको संवादहीनताको अवस्था विहीवार (आज) हटेको हो।
दुई अध्यक्षबीचको सम्बन्धमा दरार उत्पन्न भएको समाचारहरु सार्वजनिक भइरहँदा नेकपाका दुई अध्यक्षबीच आज भेटवार्ता भएको हो। प्रधानमन्त्री ओलीसँगको छलफलका लागि अर्का अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका छन्। साढे १२ बजेबाट दुई अध्यक्षबीच छलफल भइरहेको छ।
प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नेकपाका दुई जना अध्यक्षबीच अहिले भेटवार्ता जारी रहेको छ।
‘पार्टीका दुई अध्यक्षबीच अहिले भेटवार्ता जारी छ’ सल्लाहकार थापाले खबरहबसँग भने,‘सभामुख चयन, एमसीसी लगायतका विषयमा कुराकानी हुनेछ।’
नेकपामा सभामुख चयनका विषयमा विवाद देखिएको छ।
ओली सभामुखमा सुवास नेम्वाङलाई ल्याउन चाहन्छन् भने प्रचण्डले अग्नी सापकोटालाई सभामुख बनाउन अडान लिएका छन्। उता उपसभामुख तुम्बाहाङ्फेलाई सभामुख बनाउनु पर्ने लविङ राष्ट्रपति कार्यालय शीतलनिवासबाट भएको कारण समस्या उत्पन्न भएको नेकपाका नेताहरुको भनाइ छ।
नेकपाका दुई अध्यक्षबीच आइतवार यता छलफल हुन सकेको थिएन।