काठमाण्डौं, माघ २ । गायिका आस्था राउत सामाजिक सञ्जाल फेसबूकमा लाइभ भिडियो गर्दै प्रहरीलाई आक्रोशपूर्ण गाली गरेपछि विवादमा तानिएकी छिन्।
राउतले आफ्नो फेसबूक पेजमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा महिला प्रहरीले अपमानजनक व्यवाहार गरेको आरोप लगाउँदै प्रहरीलाई नानाभाँती गाली गरेकी थिइन्।
राउतले लाइभ भिडियोमा प्रहरीलाई डन्ठे, प्युसा, पुलिस हो कि फुलिस लगायतका शब्द प्रयोग गर्दै गाली गरेकी छिन्। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।
सामाजिक सञ्जालमा भाइरल भएपछि आस्थाले उक्त भिडियो हटाइसकेकी छिन्। साथै उनले माफी माग्दै अर्को स्टाटस लेखेकी छिन्। तर, उनले प्रहरीले व्यवहार दोहोर्याउनुपर्ने बताएकी छिन्।
‘रिसको आवेगमा वेद पढिँदैन, मलाई पनि त्यस्तै भयो, केही शब्दहरुका लागि क्षमा चाहन्छु,’ आस्था राउतले पछिल्लो समय सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘प्रशासनको कामहरुप्रति मलाई सधै सम्मान छ, तर सर्वसाधारणहरुसँग बोल्दा तुच्छ व्यवहार नगरियोस्, तँ तँ र म म गर्न बन्द गरियोस्, नैतिक शिक्षाको कमी नरहोस्।’
भिडियोमा प्रहरीलाई तथानाम गाली गरेपछि सामाजिक सञ्जालमा बहस भएको छ। धेरैले राउतको समर्थन र नेपाल प्रहरीलाई गतिलो जवाफ दिएको प्रतिक्रिया दिएका छन्। यद्यपि आस्थाले प्रयोग गरेका शब्दप्रति पनि उनका फ्यान पनि असहमत देखिएका छन्।
यसैबीच नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) शैलेश थापा क्षेत्रीले आस्था राउतले प्रहरी कर्मचारीविरुद्ध अपशब्द प्रयोग गर्दैै सामाजिक सञ्जालमा भिडियो ‘पोस्ट’ गरेको विषयमा छानबिन गर्न निर्देशन दिइएको बताए।
आस्था राउतले विमानस्थलमा सुरक्षा जाँचका क्रममा आफूमाथि प्रहरी कर्मचारीबाट ‘तल्लोस्तरको व्यवहार’ गरिएको भन्दै सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेकी थिइन्।