काठमाण्डौं, माघ २ । गृहमन्त्री रामबहादुर थापाले विपदलाई सही ढंगले व्यवस्थापन गर्न सके मात्रै समृद्ध नेपाल, सुखी नेपालीको अभिभारा पूरा गर्न सकिने बताएका छन्।
२२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवशरमा राजधानीमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले सुरक्षित पूर्वाधार निर्माणका लागि नागरिकलाई सचेत बनाउन सकेको अवस्थामा दीगो सुख र समृद्धिको आधार निर्माण गर्न सकिने बताए।
‘सुरक्षीत पूर्वाधारमा पहिलो कुरा नागरिक सचेतना हो। नागरिकहरुलाई सचेत बनाउने सकेको अवस्थामा त्यसले दिगो सुख र समृद्धिको आधार निर्माण गर्छ’, मन्त्री थापाले भने।
काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताएका छन्। कमजोर पूर्वाधारका कारण कुनै पनि मानवीय क्षति नहोस् भन्नका लागि सरकारले पूर्वाधारण निर्माणमा विशेष ध्यान दिएको उनले बताए।
नेपालीलाई सुखी र नेपाललाई समृद्ध बनाउन पूर्वाधारलाई प्राथमिकता दिनुपर्ने उनले बताए। भूकम्पले भन्दा पनि हामीले निर्माण गरेका पूर्वाधार र संरचनाका कारण क्षति हुने गरेकाले नेपाल सरकारले पूर्वाधार निर्माणमा ध्यान दिएको बताए।