जुम्ला, माघ २ । जुम्लामा फेरि आज बिहानदेखि हिमपात भएको छ। यस पटक पनि अघिल्लो हिउँ नपग्लिइ पुनः हिमपात भएको हो। लगातारको हिमपातले जनजीवनले जनजीवन प्रभावित हुँदै गएको छ। बिहानैदेखि परेको हिउँले फेरि डाडाँकाँडा सबै सेताम्मे बनाएको छ।
चिसोले सरकारी कामकाज तथा यातायातसमेत प्रभावित भएको छ। हवाई यातायात भने अनियमित मौसमका कारण बन्द रहेको छ। लगातार पानी र हिउँमा बच्न तथा न्यानो गर्न स्थानीय प्रशासनले पटक पटक सूचनासमेत जारी गर्दै आएको छ।
चिसोले अस्पतालमा बिरामीसमेत बढ्ने गरेका छन्। अस्पतालमा रुघाखोकीका बिरामी बढेका कर्णाली स्वास्थ्य विज्ञान प्रनितष्ठान शिक्षण अस्पतालका डा.अर्जुन तिवारीले जानकारी दिए।
जुम्लाको तापक्रम भने घट्दै गएको यहाँस्थित जल तथा मौसम विज्ञान कार्यालयले जनाएको छ। आजको न्यूनतम तापक्रम ० दशमलव ७ डिग्री रहेको छ। मौसम सफापछि भने तापक्रम बढ्ने अनुमान गरिएको छ। गत पुस १ गते जुम्लाको तापक्रम माइनस ७ दशमलव २ डिग्री सेल्सेस भएको थियो।