पोखरा, माघ २ । पोखराको मनिपाल शिक्षण अस्पतालमा चम्ल्याहा शिशुको जन्म भएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ की २६ वर्षीया सुनीता पौडेल प्रधानले बिहीबार ३ छोरी र १ छोरालाई जन्म दिएकी हुन्। चारैजना शिशु र आमाको स्वास्थ्य राम्रो रहेको अस्पतालले जनाएको छ।
डा. महेन्द्र पाण्डेको नेतृत्वमा शल्यक्रियामार्फत चार बच्चाको जन्म दिइएको हो। ७ चिकित्सक र स्वास्थ्यकर्मीको पहलमा करिब ४० मिनेट लगाएर शल्यक्रियामार्फत बच्चाको जन्म गराइएको थियो। चारै शिशु करीब डेढ केजीका रहेका छन्। पहिलो बच्चा छोरी (तौल १ दशमलव ६ किलोग्राम) , दोश्रो छोरा (१ दशमलव ३ किलोग्राम), तेश्रो छोरी (१ दशमलव ३ किलोग्राम) र चौथो छोरी (१ दशमलव ४ किलोग्राम) रहेका छन्।
भिडियो एक्सरे गर्दा तीनवटा बच्चामात्रै देखिएको तर शल्यक्रिया गर्दा चारवटा भेटिएको डा. पाण्डेले जानकारी दिए।