काठमाण्डौं, माघ ३ । श्रीमती र दुई छोरासहित त्रिशुलीमा हाम फाल्ने विनय लामिछानेले व्यापारमा घाटा लागेपछि मर्ने निर्णय लिएको बयान प्रहरीलाई दिएका छन्। छोराहरुसहित मर्ने निर्णय श्रीमतीसँगको सहमतिमै लिएको बयान विनयले दिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी रविन्द्र रेग्मीले बताए।
‘प्रारम्भिक सोधपुछमा अनलाइन बिजनेसमा घाटा भएपछि मर्ने निर्णय लिएको बयान आएको छ, घटनाको थप अनुसन्धान गर्दैछौँ’, एसपी रेग्मीले भने। विनयले गर्ने व्यापारका बारेमा भने खुलिसकेको छैन। ‘अनलाइन बिजनेसको कुरो आएको छ, के रहेछ हामी बुझ्दैछौँ’, एसपी रेग्मीले भने।
‘आफूहरु मात्रै मरेपछि छोराहरुको बिचल्ली हुने भो, त्यसैले सबै सँगै मर्ने निर्णय लिएका हौँ’, विनयले बयानमा भनेको एसपी रेग्मीले बताए।
चन्द्रागिरी नगरपालिका ५ थानकोट घर भइ गजुरी गाउँपालिकाको आदमघाट ससुराली आएका ३५ वर्षीय विनय लामिछाने र उनकी श्रीमती ३० वर्षीया जमुना रेग्मीले दुई बच्चासहित त्रिशूलीमा हाम फालेका थिए।
घटनापछि श्रीमतीको शव भेटिएको छ भने विनयलाई शकुशल उद्धार गरिएको थियो। उनीहरुका दुई छोरा नदीमा बेपत्ता छन्। पानी परिरहेकाले खोजी कार्यमा कठिनाई भएको प्रहरीले जनाएको छ।