बारा, माघ ३ । उद्योगीले भुक्तानी नदिएपछि किसान पीडित बनेको समाचार आइरहेको बेलामा बारा र रौतहटका किसानले सरकारबाट पाउनु पर्ने अनुदानसमेत नपाएको गुनासो गरेका छन्।
तीन वर्षअघि उखु बिक्री गरेका किसानले सरकारबाट पाउनु पर्ने एक करोड ४४ लाख ३४ हजार ६ सय ७३ रुपैयाँ अझै पाएका छैनन्। नगरपालिकाले कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलनिका) सलार्हीमा समयमा नै रेकर्ड नपठाउँदा किसानको अनुदान रोकिएको छ।
कति परिमाणमा उखु बिक्री गरेको भन्ने अभिलेख प्रमाणित गरेर पठाउन ढिलो पठाउँदा अनुदान रकम निकासा नभएको हो। आर्थिक वर्ष २०७४र०७५ मा २ लाख २० हजार एक सय ७५ क्विनटल उखु बिक्री गरेका बाराको निजगढ नगरपालिकाका ६३ जना, रौतहटको विजयपुर फतुवा तीन सय र चन्द्रपुर नगरपालिका ९३ जना किसानले अनुदान रकम अझै नपाएको निजगढका किसान दीपक शिवाकोटीले बताए।
किसानले सलार्हीको हरिवनस्थित ईन्दु शंकर चिनीमिललाई प्रति क्विनटल ५ सय ३६ रुपैयाँ ५६ पैसामा उखु बिक्री गरेका थिए। उद्योगबाट पाउनुपर्ने ४ सय ७१ रुपैयाँ पाए पनि थप अनुदानका रुपमा प्रतिक्विनटल ६५ रुपैयाँ ५६ पैसा तीन वर्ष बितिसक्दासमेत नपाएका हुन्।