चीन, माघ ४ । रहस्यमयी भाइरसका कारण चीनमा धेरै मानिस संक्रमित भएका छन्। पहिचान नभएको भाइरसका कारण संक्रमित हुनेको संख्या चीन सरकारले सार्वजनिक गरेको आधिकारिक तथ्यांक भन्दा निकै धेरै रहेको वैज्ञानिकहरुले बताएका छन्।
चीन सरकारले अहिलेसम्म प्रयोगशालामा भएका परीक्षणहरुबाट ४५ जनामा संक्रमण पुष्टि भएको जनाएको छ। तर बेलायती वैज्ञानिकहरुले भने पहिचान नभएको भाइरसका कारण संक्रमित हुनेको संख्या झण्डै १७ सय रहेको अनुमान गरेका छन्।
गएको डिसेम्बरमा चीनको वुहान शहरमा पहिलोपटक देखिको सो संक्रमणका कारण अहिलेसम्म दुईजनाको मृत्यु भएको थाहा भएको छ। सिंगापुर र हङकङले वुहान हुँदै आउने हवाई यात्रुको स्क्रिनिङ गर्ने गरेको छ।
यस्तै अमेरिकाले शुक्रबारदेखि यस्तै प्रक्रिया सुरुगरेको छ। सन फ्रान्सेस्को, लस एन्जलस र न्यूयोर्कका प्रमुख विमानस्थलमा वुहान हुँदै आएका यात्रुको स्क्रिनिङ्ग सुरु भएको हो।
चीनको वुहानमा संक्रमण बढी फैलिएको भए पनि थाइल्याण्डमा दुई तथा जापानमा एकजनामा संक्रमण पुष्टि भएको छ। चिनियाँ अधिकारीले सो भाइरस मानिसबाट मानिसका सरेको नपाइएको दाबी गरेका छन्। संक्रमित पशु तथा समुद्री परिकार तथा वुहानका जंगली जनावरका बजारबाट संक्रमण भएको चिनियाँ दाबी छ।
संक्रमित व्यक्तिबाट लिएको नमूना परीक्षण गरी चीनको स्वास्थ्य संगठनले सो भाइरस कोरोना भाइरस रहेको बताएको छ। अहिलेसम्म कोरोना भाइरसको समूहमा विभिन्न ६ प्रकारका भाइरस छन्। नयाँ भाइरस आएसँगै सो समूहमा सात भाइरस भएका छन्। यो भाइरसका कारण रुघा लाग्ने, स्वासप्रस्वासमा समस्या हुने गर्छ। एजेन्सी