लहान, माघ ५ । समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले शहीदको सपना पूरा गर्न आफ्नो पार्टी अझै सङ्घर्षरत रहेको बताएकाछन्। तेह्रौँ मधेश बलिदानी दिवसको अवसर पारेर लहानस्थित शहीद चोकमा रहेको शहीद रमेश महतोसहितको सालिकमा माल्यार्पण गर्दै अध्यक्ष यादवले शहीदहरुको सपना अझै पूरा हुन नसकेकाले सङ्घर्ष जारी रहेको बताए।
शहीदहरुको बलिदानीलाई खेर जान नदिने बताउँदै अध्यक्ष यादवले शहीदहरुको सपना पूरा गरेरै छाड्ने प्रतिबद्धतासमेत व्यक्त गरे। मधेश आन्दोलनको उद्गमस्थल लहानमा रहेका शहीदहरुको सालिकमा समाजवादी पार्टीका अध्यक्ष यादवसहित प्रदेश २ का आर्थिक मामिलामन्त्री विजय यादव सहितका नेता तथा कार्यकताहरुले माल्यार्पण गरे। मधेश आन्दोलनका क्रममा रमेश महतोको मृत्यु भएको सम्झनामा माघ ५ गतेलाई समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) ले बलिदानी दिवसका रुपमा मनाउँदै आएका छन्।
दिवसको अवसरमा आज प्रदेश २ मा सार्वजनिक बिदा दिएको प्रदेश २ सरकारले पर्साको वीरगञ्जमा विविध कार्यक्रमको आयोजना गरिएको छ। प्रदेश २ सरकारले अघिल्लो वर्ष माघ ५ गते सिरहाको लहानमा बलिदानी दिवस मनाएको थियो। यस्तै दिवसको अवसरमा आजै डा सिके राउत नेतृत्वको जनमत पार्टीले सिरहाको नवराजपुर गाउँपालिकामा कार्यक्रमको आयोजना गरेको छ। रासस