काठमाण्डौं, माघ ५ । राष्ट्रियसभाको आजको बैठकमा दुई प्रतिवेदन पेश गरिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले ‘राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन, २०७५/७६’लाई सभासमक्ष पेश गरेका थिए।
यसैगरी विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७५’ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेश गरेका थिए। रेल्वे विधेयक विधायन व्यवस्थापन समितिमा, पालेर्मो अभिसन्धि स्वीकृत भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेम्वाङले ‘रेल्वे विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। प्रस्ताव बैठकले सर्वसम्मतले स्वीकृत गरेको छ।
गृहमन्त्री रामबहादुर थापाले ‘अन्तरदेशीय सङ्गठित अपराध विरुद्धको महासन्धिअन्तर्गतको पालेर्मो अभिसन्धिको प्रावधानमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। छलफलमा सांसदले भाग लिएनन्। ‘अन्तरदशीय सङ्गठित अपराधविरुद्धको महासन्धिअन्तर्गतको पालेर्मो अभिसन्धिलाई स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव बैठकमा सर्वसम्मतिले स्वीकृत भएको थियो। रासस