बाँके, माघ ६। बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा सुक्खा बन्दरगाह (इन्ट्रिग्रेटेड कष्टम चेकपोष्ट) निर्माणको काम अगाडि बढ्ने भएको छ। झण्डै नौ वर्षको पर्खाइपछि बन्दरगाह निर्माणको काम अघि बढ्ने भएको हो। बन्दरगाह निर्माणका लागि बोलपत्र आह्वान भइसकेको सङ्घीय आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका इञ्जिनीयर होमनाथ भुसालले बताए।
बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा सुक्खा बन्दरगाह (इन्ट्रिग्रेटेड कष्टम चेकपोष्ट) निर्माणको काम अलपत्र परेको थियो। बोलपत्र आह्वान भए पनि निर्माणको काम कहिलेदेखि शुरु हुन्छ भन्नेबारे आफूहरुलाई कुनै जानकारी नभएको इञ्जिनीयार भुसालको भनाइ छ। सबै प्रक्रिया केन्द्रबाट र भारतीय पक्षबाट हुने भएकाले आफूहरुलाई खासै धेरै थाहा नभएको उनको भनाइ छ।
सो बन्दरगाह निर्माणको काम नौ वर्ष अघि शुरु गरिए पनि उल्लेखनीय प्रगति भएको पाइँदैन। अहिलेसम्म जग्गा अधिग्रहण र तारबार गर्नेबाहेक खासै प्रगति भएको छैन। “अर्को वर्ष बन्छ भन्दाभन्दै नौ वर्ष बितिसक्यो, फेरि बोलपत्र आह्वान गरिएकाले बन्छ भन्ने विश्वास पलाएको छ”, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यले भने।