काठमाण्डौ, माघ ७ । विराटनगरमा निर्मित एकीकृत जाँच चौकी (आइसिपी) मङ्गलबारबाट सञ्चालनमा आएको छ।
उक्त चौकीको मङ्गलबार नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गरेका छन्। नेपालको आयात निर्यात व्यापारलाई सहजीकरण गर्न उक्त चौकी स्थापना गरिएको हो।
विराटनगर –१८ मा पर्ने भेडियारीमा १ सय २९ बिघा जमिनमा निर्माण भएको आइसीपी भारत सरकारको २ अर्ब १० करोडको लागतमा निर्माण सम्पन्न भएको हो।
वाणिज्य मन्त्रालयका सहसचिव नवराज ढकालले दुबै मुलुकका प्रधानमन्त्रीले डिजिटल माध्यमबाट एकै साथ स्वीच थिच्दै आइसिपीको उदघाटन गरेको जानकारी दिए।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंस्थित कन्ट्रोल रुमबाट र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो कार्यालयबाट स्विच थिचेपछि विराटनगर आइसिपीमा भएको पर्दाको अनावरण भएको थियो।
उदघाटन लगतै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइसिपी नेपाललाई हस्तान्तरणको घोषणा गरेका छन् भने नेपालका प्रधानमन्त्रीले त्यसको स्वामित्व ग्रहण गरेका छन्।
नेपाल इन्टरमोडेल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्ड अन्तरगत आइसिपीको स्वामित्वमा रहनेछ। यसको सञ्चालन भने विराटनगर भन्सार कार्यालयले गर्नेछ।