माघ ७ । बेलायती राजकुमार ह्यारी क्यानडा पुगेका छन्। राजपरिवारको सक्रिय सदस्य नरहने घोषणा राजदरबारबाट औपचारिक रुपमा स्वीकृत भएपछिको नयाँ जीवनको सुरुवात गर्ने क्रममा रहेको द ड्युक अफ ससेक्स क्यानडा पुगेका हुन्।
उनकी श्रीमती द डचेज अफ ससेक्स यसअघि नै क्यानडामा थिइन्। छोरा आर्ची पनि क्यानडामै छन्। ह्यारी र मेगनले क्यानडा र बेलायतमा गरी समय बिताउने बताएका छन्। त्यसकै तयारीका लागि ह्यारी क्यानडा गएको बताइएको छ। ह्यारी क्यानडाको भ्यानकुभर आइल्याण्डमा स्थानीय समय अनुसार मंगलबार बिहान अवतरण गरेका हुन्।
यसअघि गएको आइएबार बेलुका लण्डनमा भएको एक कार्यक्रम गरेको सम्बोधनको क्रममा राजकुमार ह्यारीले अरु कुनै विकल्प नै नभएकाले राजपरिवारको सक्रिय सदस्यका रुपमा नरहने निर्णय लिएको बताएका थिए। राजपरिवारको शीर्ष सदस्य नरहने निर्णय लिनका लागि आफूले ‘आस्था वा निष्ठाको लामो छलाङ्ग’ मारेको उनको भनाई थियो।
द ड्युक अफ ससेक्सले आफू र श्रीमती मेगन जिम्मेवारीहरुबाट नभागेको स्पष्ट पारेका छन्। राजकुमार ह्यारीले भनेका छन्, ‘बेलायत मेरो घर हो र मैले माया गर्ने ठाउँ हो, यो कहिले पनि परिवर्तन हुने छैन।’
एचआरए (हिज हर रोयल हाइनेस) उपाधिबाट पछि हट्ने घोषणा गरेपछि राजकुमार ह्यारी पहिलोपटक यसबारे सार्वजनिक रुपमा बोलेका हुन्। ह्यारी र उनकी श्रीमती मेगनले अबदेखि हिजरहर रोयल हाइनेस ९एचआरएच० सम्बोधन प्रयोग गर्ने छैनन्।
यस्तै राजकीय जिम्मेवारीका लागि उनीहरुले सार्वजनिक कोषको प्रयोग पनि नगर्ने बेलायती राजदरबार बकिङ्गहम प्यालेसले शनिबार जानकारी दिएको थियो। यस्तै ह्यारी र मेगनले अबदेखि औपचारिक रुपमा महारानीको प्रतिनितत्व गर्ने छैनन्।
द ड्युक एण्ड डचेज अफ ससेक्सले उनीहरुको घर फ्रोग्मोर कटेज पुनर्निर्माणका लागि खर्च भएको २ दशमलव ४ मिलियन पाउण्ड फिर्ता गर्ने जनाइएको छ। फ्रोग्मोर कटेज राजकुमार ह्यारी र मेगनको बेलायती परिवारिक घर रहने राजदरबारद्वारा जारी वक्तव्यमा उल्लेख छ।
गएको हप्ता बेलायती राजपरिवारका उच्च सदस्यहरुको बैठक सान्ड्रिङ्घममा भएको थियो। सो बैठकमा ह्यारी र मेगनको भावी राजकीय भूमिकाका सम्बन्धमा छलफल भएपछि दरबारको यो वक्तव्य आएको हो। सोमबारको भेटमा महारानी एलिजाबेथ, राजकुमार ह्यारी ह्यारीका पिता राजकुमार चाल्र्स (प्रिन्स अफ वेल्स) तथा दाइ राकजुमार विललियम (ड्युक अफ क्याम्ब्रिज) पनि उपस्थित थिए।
द ड्युक एण्ड डचेज अफ ससेक्स (राजकुरमा ह्यारी र उनकी पत्नि मेगन) ले आफूहरु बेलायती राजपरिवारको शीर्ष सदस्याबाट पछि हट्न चाहेको बताएका थिए।
द ड्युक एण्ड डचेज अफ ससेक्सले ‘सिनियर’ राजपरिवार सदस्यबाट पछि हट्ने घोषणा जनवरी ८ मा गरेका हुन्। उनीहरुले वित्तिय रुपमा आत्मनिर्भर हुने गरी काम गर्ने योजना रहेको पनि उल्लेख गरेका थिए।
राजकुमार ह्यारीले आइतबार बेलुका सेन्ट्रल लण्डनमा दक्षिण अफ्रिकामा एचआइभी संक्रमणसहितका बालबालिकाको सहयोगका लागि रकम संकलन गर्न भएको कार्यक्रममा सम्बोधन गरेका थिए।
सम्बोधनको सुरुमा राजकुमार ह्यारीले भने, ‘पछिल्ला केही हप्तामा तपाईँहरुले सञ्चारमाध्यम वा पत्रपत्रिकामार्फत के के सुन्नु भयो या पढ्नु भयो भन्नेबारे म मात्रै कल्पना गर्न सक्छु। त्यसैले म तपाईँहरु मेरो तर्फबाट सत्य सुन्नु होस् भन्ने चाहन्छु, यो सत्य राजकुमार या ड्युकका रुपमा होइन ह्यारीका रुपमा मात्रै हो।’
सम्बोधनको क्रममा राजकुमार ह्यारीले भनेका थिए, ‘मेरी हजुरआमा, मेरो कमाण्डर इन चिफप्रति जहिले अति आदर र सम्मान रहने छ।’ एजेन्सी