तनहुँ, माघ ७ । ऋषिङ गाउँपालिका ८ हवेलीडाँडामा रहेको शिव सरस्वती माध्यामिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्न महायज्ञ गरिने भएको छ। विद्यालयको वार्षिकोत्सवको अवसर पारेर यही माघ १७ गतेदेखि ‘श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव–२०७६’ आयोजना गर्न लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर श्रेष्ठले जानकारी दिए। माघ २५ गतेसम्म सञ्चालन हुने महायज्ञमा ५० लाख संकलन गर्ने लक्ष्य लिएको उनले बताए।
राज्य पक्षबाट पूर्वाधार विकासमा हालसम्म चासो नदेखाएपछि जिल्लाको दक्षिणी भेगमा पर्ने ऋषिङ शिक्षाजस्तो महत्त्वपूर्ण क्षेत्र धेरै नै पछाडि परेको हुँदा यसपटक यहाँका स्थानीय गाउँमै प्राविधिक शिक्षा सञ्ञ्चालन गर्न कम्मर कसेर लागि परेका हुन्।
१२ कक्षासम्म पठनपाठन गर्दै आएको विद्यालयले व्यवसायिक शिक्षा उपलब्ध गराउँदै पलायन भएका स्थानीयलाई गाउँमै रोक्ने अभियान सञ्चालन गर्न प्राविधिक शिक्षा सञ्चालन गर्ने योजना ल्याएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिए। शिक्षाको उचित व्यवस्थापनभएकै कारण दिनानुदिन बसाइसाराई गर्नेको संख्या बढेको महसुस गर्दै विद्यालयले स्थानीयसँग अन्तरक्रियासमेत गरिसकेको छ।
‘बसासराईका कारण गाउँ छाड्नेको संख्या बढ्दो छ,’ उनले भने, ‘त्यसैले गाउँमै प्राविधिक शिक्षा सञ्चालन गर्न सके बसाइसराईको क्रम पनि रोकिन्थ्यो कि भन्ने लागेको छ।’ विद्यालयले ऋषिङबाट बसाई सरेर चितवन आएका स्थानीयसँग पनि अन्तरक्रिया गरेको थियो। भरतपुर २ क्षेत्रपुर र पश्चिम चितवनको चनौलीमा गरिएको अन्तरक्रियामा ऋषिङवासी चितवने सबैले सकारात्मक प्रतिकृया दिएका विद्यालयका शिक्षक इन्द्रबहादुर आलेमगरले जानकारी दिए।