काठमाण्डौं, माघ ९ । चीनमा कोरोना भाइसरको प्रकोप फैलिएपछि नेपालमा पनि सतर्कता बढाइएको छ। श्वासप्रश्वासबाट सर्ने यो भाइरसको जोखिम बढेसँगै सतर्कता र निगरानी बढाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
कोरोनाको जोखिम बढेसँगै त्रिभुवन विमानस्थलमा रहेको हेल्थ डेस्कलाई सक्रिय बनाइएको र रुघाखोकीलगायत श्वासप्रश्वासको कुनै समस्या देखिएका यात्रुलाई स्वास्थ्य परीक्षण गर्न पठाउन थालेको महाशाखाले जनाएको छ।
विमानस्थल कार्यालयले पनि चीनको वुहान शहरबाट आउने यात्रुको निगरानी गर्न थालेको छ। विमानमा रुघाखोकी लागेका बिरामी भए वा नभएको बारे जानकारी लिने र त्यस्ता बिरामी पाइए उनीहरुको स्वास्थ्य परीक्षण गर्न पठाउने गरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वय भइरहेको विमानस्थल कार्यालयका प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिए।
वुहान शहरबाट आएका एक नेपालीमा यो भाइरसको सङ्क्रमण देखिएपछि ती व्यक्तिको नमुना परीक्षणका लागि हङकङ पठाइएको छ। ती व्यक्ति अस्पतालबाट डिस्चार्ज भए पनि निगरानीमै रहेको महाशाखाले जनाएको छ।
अहिलेसम्म यो भाइरसको सङ्क्रमण चीनबाहेक अमेरिका दक्षिण कोरिया जापान र थाइल्याण्डमा पनि देखिएको छ। यो भाइरसका कारण अहिलेसम्म कम्तीमा १७ जनाको ज्यान गइसकेको छ भने चीनमा पाँच सयभन्दा बढी मानिस यसबाट सङ्क्रमित भएका छन्।
यसको प्रकोप बढ्दै गएपछि चीनको वुहान शहरमा अधिकारीहरुले स्थानीय मानिसहरुलाई यात्रा गर्न प्रतिबन्ध लगाएका छन्।