चितवन नेपालको प्रमुख तीन पर्यटकीय गन्तव्य मध्यको एक हो। चितवन भन्ने बित्तिकै हामी सबैको मुखमा चितवन राष्ट्रिय निकुञ्जको नाम आउँछ। तर, बदलिँदो समयमा सफारी पर्यटनलाई मुख्य आकर्षण बनाएको चितवनले विस्तारै नयाँ ‘प्रडक्ट’तिर ध्यान दिएको छ।
लगानीकर्ताहरु नयाँ सोच र शिल्प लिएर नयाँ पर्यटकीय गतिविधि थप्ने क्रममा छन। चितवनको कुरा गर्दा हामीले सौराहालाई विर्सन सकिन्न। धेरैको मनमा चितवन भन्ने बित्तिकै सौराहा आउँछ। सौराहामै पर्यटकका लागि ठोस नयाँ प्रडक्ट सुरु नभए पनि नयाँ कार्यक्रमका विषयमा छलफल भने चलिरहेको छ।
यहाँ रात्रिकालीन जीप सफारी, गल्फ कोर्ष, वाटर फन पार्क र सभा हल निर्माणका लागि कुराहरु चलिरहेका छन्। चितवन आउने कुल पर्यटकको ८० प्रतिशत हिस्सा सौराहाले राख्दछ, अनि सौराहाले थप पर्यटकलाई आकर्षित गर्न यी र यस्तै नयाँ पर्यटकीय प्रडक्ट ल्याउन जरुरी छ। र, सफारी पर्यटनले चिनिएको वर्तमान अवस्थामा सौराहा आउने पर्यटकको बसाई लम्बाउनको निम्ति नयाँ प्रडक्ट जरुरी छ।
सौराहालाई केन्द्रविन्दु बनाएर चितवनका धेरै स्थानमा पर्यटनलाई विस्तार गर्न पनि सकिन्छ। नेपाल भ्रमण वर्ष–२०२० को अवसरमा चितवनको पर्यटनमा निम्न गतिविधिहरु थप हुन लागेका छन् र यिनीहरुको भविष्य पर्यटन क्षेत्रमा उज्जवल छ।
नारायणी नदीमा क्रुज शिप
पानीजहाजको कल्पनाले साकार रुप लिन लागेको भरतपुर महानगरपालिका वडा न १६ ज्ञानेश्वर सामुदायिक वनको काप्रेघाटमा निर्माण भइरहेको पानी जहाजले चितवनको पर्यटनमा थप टेवा प्रदान गर्ने छ। नारायणी नदी माथि हुने यो यात्राले देवघाटदेखि गोलाघाटसम्मको यात्रा तय गर्ने योजना छ।
दुबई, थाइल्याण्डजस्ता देशमा यस्ता पानी जहाजमा डीनर क्रुज सन्चालन हुने गर्दछन् र यहाँ सन्चालन हुने यो क्रुजले यी र यस्तै नवीनतम् कार्यक्रम ल्याउने नै छन्। समुद्र नभएको हाम्रो मुलुकमा यो मिनी पानी जहाज सबैको लागि आकर्षणको केन्द्रविन्दु बन्ने छ र चितवनमा यसकै कारण थप पर्यटक भित्रने छ।
जीप लाईन
आँपटारी जलदेवी सामुदायिक वनले सुरु गरेको जीपलाइन सेवा चितवनको पर्यटन क्षेत्रमा पहिलो जीप लाईन सेवा हो। मुग्लिन–नारायणघाट सडक खण्डमा अवस्थित यो जीपलाइन सेवा चितवन लगायत, आँपटारी भएर अन्य जिल्ला जाने पर्यटकहरुको लागि पनि पायक पर्दछ। साहसिक पर्यटनमा रुचि हुनेहरुको लागि यो खेल पहिलो रोजाइमा पर्दछ।
विभिन्न रुट भएको यो जीपलाइनमा लामो तथा छोटो यात्रा गर्न सकिनेछ। साना बालबालिकाको निम्ती ३५ मिटर जीपलाइन पनि सन्चालनमा छ। राम्रो प्रचारप्रसार गर्न सके यो जीपलाइन चितवन आउने पर्यटकहरुका लागि आकर्षणको केन्द्रविन्दु बन्न सक्ने छ।
राइनोपार्क
मेघौलीमा निर्माणको निम्ति शिलान्यास भइसकेको राइनोपार्क अबको तीन वर्षमा निर्माण हुने लक्ष्य लिइएको छ। विशाल गैंडाको मूर्ति सामुदायिक वनमा बन्ने छ। मूर्तिको उचाई ३० फिट र चौडाई ४० फिटको हुनेछ। त्यो गैंडाको आकृतिभित्र पर्यटन सूचना केन्द्र, म्युजियम, भ्यू टावरलगायत हुनेछन्। यसको टावरमा बसेर घाँसे मैदानमा गैंडा चरिरहेका दृश्य देख्दा कसको मन नरमाउला र ? यो राइनोपार्कको निर्माणपछि यसकै कारण पनि चितवनमा थप पर्यटन वृद्धि हुने छ र विशेषत मेघौली क्षेत्रमा आरालो लागेको पर्यटनलाई यसले उकास्ने छ।
अम्ब्रेला स्ट्रिट
नेपाल भ्रमण वर्ष–२०२० को अवसरमा सुरुवात गर्ने लक्ष्य लिएर भरतपुर महानगरपालिका वाड न २२को पटिहानीको राप्ती तटमा अम्ब्रेला स्ट्रिट निर्माण भइरहेको छ। यहाँ आउने पर्यटकहरुले अति सुन्दर तरिकाले निर्मित यो स्ट्रिटबाट सूर्यास्त हेर्न पाउने छन्। सडकमा छाताहरुको निर्माण हुने भएकोले यसलाई अम्ब्रला स्ट्रिट भनिएको हो।
राप्ती नदीमा सूर्यास्त अवलोकन एकदमै लोभलाग्दो हुन्छ। सूर्यास्तको अलावा यो सडकबाट चितवन राष्ट्रिय निकुञ्जलाई नजिकबाट र सँगसँगै गैंडा, गोहीलगायतका जनवारहरु पनि देख्न सकिन्छ। ४५० वटा ठूला छाता र ३०० वटा कुर्सी रहने यो स्ट्रिटमा पर्यटकको थप मनोरन्जनका लागि फाउन्टेन, पार्क र रेष्टुरेण्टकोे पनि निर्माण हुने छ।
सेभेन प्वाईन्ट टुर
हरेक देशमा त्यहाँका टुर अपरेटरले पर्यटकीय स्थान घुमाउनको निम्ति विभिन्न प्याकेज निर्माण गरेका हुन्छन्। यो विशेषत सिटी टुरको लागि गरिन्छ। निकुञ्ज बाहेक यहाँ पनि विभिन्न आकर्षक स्थानहरु छन्। विश्व पर्यटन दिवसको अवसर पारेर सौराहाका व्यवसायीहरुले सेभेन प्वाईन्ट टुरको अवधारण ल्याएका छन्। चितवन मुख्यरुपमा निकुञ्ज घुम्न पर्यटक आउँछन्। निकुञ्जमा पाइने दुर्लभ एक सिङ्गे गैँडा, बाघ, भालु, गोहीलगायतका जनावरले पर्यटकलाई आकर्षित गर्ने गरेको छ। थारु संस्कृतिमा पनि पर्यटक रमाउने गर्छन्।
अहिले सुरु भएको सेभेन प्वाईन्ट टुरमा यहाँका सात गन्तव्यमा पर्यटकलाई घुमाउन लगिनेछ। सौराहाको प्रकृति संरक्षण कोषको सङ्ग्रहालय, बछ्छौलीको थारु सङ्ग्रहालय, चित्रसेनमा रहेको चित्रसेनबाबा मन्दिर र धर्मधाम रहेका छन्। राष्ट्रिय प्रकृति संरक्षण कोषको सङ्ग्रहालयमा मरेका वन्यजन्तुको अस्थिपञ्जर छन्। थारु सङ्ग्रहालयमा थारु जातिको संस्कार झल्कने वस्तु देख्न सकिन्छ। सौराहा प्रवेशद्वारको चित्रसेन बाबाको मन्दिर पौराणिक मन्दिर हो।
देवघाट धाम, नारायणी नदी तट र तीनखोले गुम्बा नयाँ गन्तव्य हुन्। अर्को गन्तव्य नारायणी नदी तट नारायणगढ बजारसँगै अवस्थित छ। सो क्षेत्रमा विभिन्न मठमन्दिर र खुला चौर छ। तीन खोले गुम्बा बुद्ध धर्मावलम्बीको महत्त्वपूर्ण आस्थाको केन्द्र हो। सेभेन प्वाईन्टलाई अहिले निकै प्रख्यात भएको शाश्वतधामसँग पनि जोड्न सकिन्छ।
रात्रिकालीन जीप सफारी
अफ्रिकी मुलकमा निकैनै मन पराइएको रात्रिकालीन जीप सफारी चितवनमा कसरी जोड्न सकिन्छ भनेर व्यवसायीहरु लागि परेका छन्। निकुञ्जभित्र भन्दा पनि वराण्डाभार क्षेत्रमा यसको परीक्षण गरिसकिएको छ। रातमा जंगल छेउछाउ जीपमार्फत घुम्न निकै नै रमाइलो हुन्छ। यो सफारीलाई व्यवस्थित गरेर सन्चालन गर्न सकें चितवनमा थप सफारी पर्यटक बढ्ने छन्। रात्रिकालीन जीप सफारीलाई सन्चालन गर्नको निम्ति केही समय अगाडि सौराहादेखि लोथरसम्मको परीक्षण सफारी गरिसकिएको छ।
हात्तीसँग हिड्ने
टाईगर टप्स जंगल लजले केही वर्षदेखि हात्ती सफारी बन्द गरी नयाँ कार्यक्रम जोडेको छ, त्यो हो हात्तीसँग हिड्ने। अंग्रेजीमा यसलाई वाक विथ एलिफेन्ट भनेर चिनिन्छ। यसलाई अनुशरण गर्दै अहिले सौराहाका केही व्यवसायीहरुले यो कार्यक्रमलाई परिमार्जित गर्दै बुश वाकको नाम दिएका छन्। हात्ती चढ्न मन नपराउनेहरुले यो कार्यक्रमलाई निकै रोचक मानेका छन्। पशुअधिकार खोज्नेहरुले यो कार्यक्रमलाई मन पराएको र चितवन आउँदा हात्ती सफारी मात्र होइन, हात्तीसँग पनि हिड्न पाइन्छ भन्दा यहाँ पर्यटन थप वृद्धि हुने आशा छ।
चितवन क्षेत्रमा सफारी पर्यटन सुरु भएको आज चार दशक भइसकेको छ। यो चार दशकको अवधिमा संख्यात्मक हिसाबमा हामीले आ–आफ्नो व्यवसाय वृद्धि गर्यौं, तर नयाँ प्रडक्टको बारेमा खासै ध्यान दिएनौं। अहिले आएर नयाँ प्रडक्टको बारेमा चिन्तन गर्न थालिएको छ। नयाँ सोच भएका युवाहरुको जमातले चितवनको पर्यटनमा कायापलट ल्याउने छन्।
प्रडक्ट सँगसँगै यसको बजारिकरण पनि उत्तिकै महत्त्वपूर्ण छ। चितवनको पर्यटनको भविष्यलाई सुनिश्चित गर्ने हो भने निकुञ्जभित्र गरिने सफारी गतिविधिमा सुधार, विस्तार अनि यसको संरक्षणमा हामी लाग्नु पर्दछ। हामीले चितवनको पर्यटनको कुरा गर्दा सफारी पर्यटनलाई सधैं आत्मसाथ गर्न पर्दछ। जय पर्यटन !