काठमाण्डौं, माघ ९ । भक्तपुरमा छुरा प्रहार गरेर एक किशोरको हत्या भएको छ। घटनामा संलग्नको आरोपमा प्रहरीले २ किशोरलाई पक्राउ गरेको छ।
छुरा प्रहारबाट भक्तपुर–१०, चोखा कमलविनायक बस्ने १५ वर्षीय रोहन सुवालको बुधबार साँझ मृत्यु भएको हो। छुरा प्रहारबाट गम्भीर घाइते सुवाललाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरले जनाएको छ।
५ किशोरहरूले सल्लाहमा भक्तपुर नगरपालिका–६, भोलाछेंमा मदिरा सेवन गरेका थिए। मदिरा सेवनका क्रममा उनीहरूबीच सामान्य विवाद भएको थियो । महानगरीय प्रहरी परिसर, भक्तपुरका अनुसार, यही विवादमा आफ्नै साथीले छुरा रोपेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनामा संलग्नको अभियोगमा १५ र १६ वर्षीय दुई किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सिद्वपोखरीस्थित कान्तिपुर गेष्टहाउसबाट प्रहरी नायब उपरीक्षक तथा महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत कुमाविक्रम थापाले जानकारी दिए।
थापाका अनुसार, अहिले दुई किशोरमाथि अनुसन्धान भइरहेको छ।