काठमाण्डौं, माघ ९। ललितपुरे क्लब थ्री स्टार सहिद स्मारक ए डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै थ्री स्टार लिगको शीर्ष तीनमा उक्लिएको हो।
थ्री स्टारलाई जित दिलाउन शुसिल राई, सन्जोग राई र ओलानडिरन हाजमतले एक एक गोल गरे। शेर्पाका स्टेफेन समिरले एक गोल फर्काए।
तुलनात्मक कमजोर टिम शेर्पाविरुद्ध खेलको छैटौं मिनेटमा शुसिलले गोल गर्दै थ्री स्टारलाई १-० को अग्रता दिलाएका थिए। भारतीय खेलाडी लालरम्मावियाले उपलब्ध गराएको पासमा शेर्पाका डिफेन्डरले क्लियर गर्न नसक्दा शुसिलले गोल गरे।
पहिलो हाफमा थप गरिएको इन्जुरी समयको दोस्रो मिनेटमा स्टेफेनले गोल गर्दै शेर्पालाई १-१ को बराबरीमा ल्याए। तर, त्यसको एक मिनेटपछि सन्जोगले गोल गर्दै पहिलो हाफमा थ्री स्टार २-१ को अग्रता दिलाए।
त्यसपछि खेलको ५० औं मिनेटमा निशान खड्काको पासमा शेर्पाका गोलकिपर किशोर गिरीलाई बिट गर्दै हाजमतले उत्कृष्ट हेड गोल गर्दा थ्री स्टारले ३-१ को सहज जित निकाल्यो।
खेलमा थ्री स्टारका सन्जोग म्यान अफ दि म्याच चुनिए। जितसँगै तेस्रो स्थानमा उक्लिएको थ्री स्टारले ८ खेलमा १४ अंक जोडको छ।
शेर्पाले ८ खेलमा ७ अंक जोडेको छ। शेर्पा लिगको ११ औं स्थानमा रहेको छ।