काठमाण्डौं, माघ ९ । सशस्त्र प्रहरी बलका प्रमुख (आइजीपी) शैलेन्द्र खनालले संगठनमा नीतिगत भ्रष्टाचार र आर्थिक अनियमितता गर्ने कसैलाई छुट नहुने बताएका छन्।
१९ औँ सशस्त्र प्रहरी स्थापना दिवसका अवसरमा भएको कार्यक्रममा खनालले संगठनमा राम्रा काम गर्नेलाई उचित पुरस्कार दिने बताउँदै भ्रष्ट आचरणका कर्मचारीलाई कडा भन्दा कडा कारवाही गर्ने गरिने नीति अनुरुप सबैलाई जिम्मेवार र जवाफदेही बन्न निर्देशन समेत दिए।
खनालले संगठनको मूल्य, मान्यता र आचरण विरुद्धको काम गर्ने १२ सय ९७ जना कर्मचारीलाई कारावही गरिएको समेत जानकारी दिए।
आफ्नो कार्यकालमा संगठनभित्र राम्रो काम गर्ने ५ सय २१ जना कर्मचारीहरुलाई पुरस्कृत पनि गरिएको उनले बताए। खनालले राम्रा कामहरु गर्दा आइपर्ने कठिनाईहरुको जवाफदेहिता लिन संगठन प्रमुखको हैसियतले आफू सधैँ तयार रहेको बताए।