काठमाण्डौं, माघ ९ । अटो व्यवसायीले नेपालबाट तेस्रो मुलुकमा सवारी निर्यात गर्न प्रस्ताव गर्न थालेका छन्। भारतमै बनेका गाडीहरु नेपाल ल्याएर तेस्रो मुलुक पठाउने उनीहरुको योजना छ।
नेपाल पूर्णरुपमा सवारीसाधनको आयातकर्ता मुलुक हो। बजाज मोटरसाइकल र केही विद्युतीय साइकलबाहेकका सवारी एसेम्बल पनि हुँदैनन्। तर, व्यवसायीले भारतबाट गाडी आयात गरेर तेस्रो मुलुक पठाउन औपचारिक रुपमा नै प्रयास थालेका हुन्। सरकारमा पेश भइसकेको प्रस्ताव सरकारले स्वीकृत गरेमा नेपालमा बन्ने सवारी अन्य मुलुकमा जाने भने हैन, भारतबाट आएका सवारीलाई नै तेस्रो मुलुकमा पठाइने छ।
फोर्ड गाडीको नेपालको लागि अधिकृत बिक्रेता जीओ अटोमोबाइलले गाडी नेपाल ल्याएर बंगलादेश निकासी गर्न प्रस्ताव गरेको छ। कम्पनीले अर्थमन्त्रालयमा पेश गरेको प्रस्तावमा फोर्ड ब्रान्डको गाडी नेपाल ल्याएर बंगलादेशमा निर्यात गर्ने उल्लेख छ।
अर्थमन्त्रालयका एक अधिकारीका अनुसार कम्पनीले ५ प्रतिशत मूल्य अभिवृद्धि गरेर सो गाडी बंगलादेश पठाउने प्रस्ताव गरेको हो। भारतमा एसेम्बल हुने गाडी नेपाली भन्सारसम्म ल्याएर त्यसलाई फेरि बंगलादेश पठाउन जीओको प्रस्ताव छ।
प्रस्ताव अनुसार सो गाडी नेपालको भन्सारसम्म आएपनि नेपाल भित्रिने छैन र निर्यात गर्दा पनि कर लगाउन पाइने छैन। अर्थ मन्त्रालयले यो प्रस्तावमाथि अध्ययन र छलफल गरिरहेको छ। यो प्रस्ताव पास भएका सवारी आयात गरेर अरु देशमा निर्यात गर्ने बाटो खुल्नेछ।
आर्थिक ऐनमा कुनै व्यक्तिले नेपालमा आयात हुने वस्तु बैकिङ प्रक्रियामार्फत भुक्तानी हुने गरि निर्यात गर्न चाहेमा पैठारी मूल्यमा १० प्रतिशत मूल्य अभिवृद्धि गर्नुपर्ने व्यवस्था छ। तर, अनुमतिका लागि निकासीवापतको विदेशी मुद्रा अर्गिम रुपमा प्राप्त भइसकेको वा सो वापत खोलिएको एलसीका आधारमा विदेशी मुद्रा प्राप्त हुने प्रमाण पेश गर्नुपर्छ।
कम्पनीले आफ्नो प्रस्तावमा यसो गर्दा देशलाई धेरै किसिमका फाइदा हुने उल्लेख गरेको छ। भारतमा उत्पादित गाडीमा मूल्य अभिवृद्धि गरेर बेच्दा भारुमा किनिने गाडीबाट बंगलादेश पुगेपछि डलरमा भुक्तानी पाइनेछ। यसले गर्दा देशभित्र वैदेशिक मुद्राको सञ्चिति बढ्ने र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने दावी व्यवसायीले गरेका छन्।