डडेल्धुरा, माघ ९ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उखु किसानको समस्या ९० प्रतिशत समाधान भइसकेको दाबी गरेका छन्।
राष्ट्रियसभाको निर्वाचनका लागि डोटी जाने क्रममा डडेल्धुरामा मन्त्री भट्टले ५ वर्षदेखि रहेको उखु किसानको समस्या ९० प्रतिशत समाधान भएको दाबी गरेका हुन्।
चिनी मिल र कृषकबीच बक्यौताका विषयमा एकमत नरहेकाले केही समस्या रहेको समेत उनले बताए। लामो समयदेखि चिनी मिलले उखु किसानको बक्यौता नतिरेपछि उखु किसानले चरणबद्ध आन्दोलन गरेका थिए।
यसपछि मन्त्री भट्टकै रोहबरमा चिनी मिलले बुधबारसम्म सबै किसानको बाँकी भुक्तानी गरिसक्ने सहमति गरेका थिए। बुधबारसम्ममा केही चिनी मिलले बक्यौता तिरेको तर अझ पनि १ अर्ब रूपैयाँ तिर्न बाँकी रहेको छ।