विराटनगर, माघ ९ । जवरजस्ती करणीको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी सुटुक्क भारततर्फ गएका छन्। उच्च अदालत विराटनगरमा आफूविरुद्धको मुद्दाको सुनुवाइ चलिरहेका बेला गिरी सुरक्षा गार्ड फिर्ता गरेर भारततर्फ गएका हुन्।
बिहीबार उनीविरुद्धको मुद्दाको पेसी उच्च अदालत विराटनगरमा मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश हरिप्रसाद बगालेको इजलासमा चलिरहेका बेला गिरी सुरक्षा संयन्त्रलाई झुक्याएर भारत पुगेका हुन्।
सुनसरी चतरास्थित आश्रमबाट विराटनगर जाने भन्दै हिडेका गिरीमाथि प्रहरीले सामान्य निगरानी राखेको थियो। उनको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीले एक हवल्दारलाई खटाएको छ।
हवल्दारसहित सीमावर्ती क्षेत्र रानीबाट भारतीय बजार जोगवनी पुगेका गिरीले सुरक्षाकर्मीलाई फिर्ता पठाएर भारततर्फ लागेका हुन्। ग १ च ८१५७ नम्बरको पजेरो गाडी चढेर उनी जोगवनी हुँदै दक्षिण तर्फ लागेका हुन्।
उनले नाकाबाट सुरक्षागार्ड नेपाल प्रहरीका हवल्दार मुकेश साहलाई फिर्ता पठाएका थिए।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनी दिउँसो करिब १ बजे भारततर्फ लागेका हुन्। रानीबाट दक्षिणतर्फ लागेका सिद्धबाबा कहाँ गए भन्ने केही जानकारी नभएको मोरङका डिएसपी लोकदर्शन थापाले बताए।
सिद्धबाबाका अनुयायीहरुले भने सिद्धबाबा उपचारका लागि दिल्ली गएको बताएका छन्। विराट नर्सिङहोमबाट रेफरपूर्जी बनाएर उनी थप उपचारका लागि दिल्ली लागेको स्रोतले बताएको छ। रामानन्द आचार्य सेवा पीठका अध्यक्ष गणेश विरहीले पनि सिद्धबाबा दिल्लीतर्फ गएको बताए।
दीक्षा दिने भन्दै मध्यरातमा बोलाएर सुनसरीको चतराधामस्थित आफ्नै आश्रममा कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएपछि सिद्धबाबालाई मंसिर १६ गते पक्राउ गरेर सुनसरी प्रहरीले जवरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो।