काठमाण्डौं, माघ १० । घरेलु भूमीमा हुने पहिलो एकदिवसीय सिरिज खेल्ने राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा शुक्रबार १४ सदस्यीय टोलीको घोषणा गरेको हो।
एक दिवसीयतर्फ दुई नयाँ खेलाडीले स्थान बनाएका छन्।अलराउण्डर सोमपाल कामीको स्थानमा कमल सिंह ऐरी र स्पिनर बसन्त रेग्मीको स्थानमा सुशन भारीले स्थान बनाउन सफल भएका छन्।
नेपाली टिम स् ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिह ऐरी, पारस खड्का, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, बिनोद भण्डारी, अभिनास बोहरा, कुशल मल्ल, कमल सिंह ऐरी, सुशन भारी, रोहित पौडेल, शरद भेसावाकर र ललित राजबंशी ।
यस्तै वैकल्पिक खेलाडीमा पवन सर्राफ, सुबास खकुरेल, सन्दीप जोरा र किशोर महतो रहेका छन्।
पोखरामा एक हप्ता प्रशिक्षण र मलेसियाविरुद्धको तीन मैत्रीपूर्ण खेलपछि नेपाली टिम शुक्रबार काठमाडौँ फर्किन लागेको छ।
गत पुस २५ गतेबाट पोखरामा बन्द प्रशिक्षण गर्ने भनिएपनि खराब मौसमको कारण केहि दिन खेलाडीले काठमाडौंमै इन्डोर प्रशिक्षण गरेर पोखरा पुगेका थिए।
पोखरामा नेपाली टिमले अभ्यास सहित मलेसिया टिमसंग ३ एकदिवसीय मैत्रीपूर्ण खेल खेलेको थियो। मलेसियाविरुद्ध क्यान -११ बाट राष्ट्रिय टिमका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए।
कीर्तिपुरस्थित टियु मैदानमा हुने सिरिज फेब्रुवरी ५ देखि १२ सम्म चल्नेछ। सिरिजका लागि यस अघि अमेरिका र ओमानले टिमको घोषणा गरिसकेका छन्।