विराटनगर, माघ ११ । मोरङको केराबारी गाउँपालिका कार्यालयमा शक्तिशाली बम विस्फोट भएको छ। शुक्रबार राति अज्ञात समूहले कार्यालयको भवनमा विस्फोट गरेको हो। बम विस्फोट भएपछि गाँउपालिका बजार क्षेत्रमा त्रास उत्पन्न भएको छ।
वडा नम्बर १० स्थित गाँउपालिकाको कार्यालयमा विस्फोट गराएसँगै सडकमा समेत बम राखिएको गाँउपालिका प्रमुख रोहित कार्कीले जानकारी दिए।
अहिले नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बम निष्क्रिय पार्ने काम गरिरहेको छ। बम विष्फोटबाट मानवीय क्षति नभएको बताएका अध्यक्ष कार्कीले कार्यालयको भवनमा क्षति पुगेको जानकारी दिए ।
घटनालगत्तै जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले विस्फोट किन र कसले गराएको विषयमा अनुसन्धान जारी रहेको जानकारी दिए।
विस्फोटबाट कार्यालयको जेनेरेटर, पर्खाल, झ्याल, सीसी क्यामेरा, १० वटा झ्याल तथा ढोका र कार्यालय नजिकै राखिएको स्थानीयको एउटा स्कुटरमा गरि कम्तीमा २० लाख रुपैयाँ बराबरको क्षति पुगेको बताइको छ।