माघ ११ । अनुशासन भनेको आफ्नो जीवनलाई सही र सार्थक ढंगले अगाडि बढाउने मार्गचित्र हो । यसैको परिधी र सीमाहरुमा रहेर हामी आफुलाई राम्रो बाटोमा हिँडाउने प्रत्यन्न गर्छौं।
तर, हामीलाई लाग्छ, अनुशासन भनेको अरुको लागि राम्रो गरिदिने कार्य जस्तो लाग्छ। अर्थात अरुको अगाडि आफु सभ्य, शिक्षित देखाउनका लागि हामीले गर्ने अभ्यास नै अनुशासन हो भन्ने लाग्छ । त्यसैले हाम्रो अनुशासन देखावटी हुन्छ।
अनुशासन भन्दा पनि आत्मअनुशासन महत्वपूर्ण छ। आत्मअनुशासन भनेको आफुले आफैलाई निश्चित सर्त र सीमाभित्र बाँध्नु हो। अर्थात अनर्थ, अनैतिक कामहरुबाट आफुलाई रोक्नु हो। जब हामी आत्मअनुशासित हुन्छौं, जीवन धेरै हदसम्म सार्थक हुन्छ।
आत्मअनुशासनले हामीलाई आफ्नो जीवनमा, घर-परिवारमा, करियरमा, स्वास्थ्यमा फाइदा गर्छ।
कुरा गरौं, स्वास्थ्यकै
आत्मअनुशासन हामीले आफ्नै स्वास्थ्यका खातिर पालना गर्न सकिन्छ। सोंच-चिन्तनको लागि गर्न सकिन्छ। अर्थात निश्चित सीमा र सर्तहरु आफैमाथि लागु गर्न सकिन्छ।
दिनचर्यामा
हामी अनुशासित दिनचर्या पालना गर्न सक्छौं। यो भनेको हाम्रो दैनिक जीवनयापनको कुरा पनि हो। जस्तो नियमित सुत्ने र उठ्ने तालिका निर्धारण गर्ने। निश्चित समयमा सुत्ने, निश्चित समयमा उठ्ने। दिनभर काम गरिरहँदा सकारात्मक ढंगले गर्ने। कामप्रति लगाव राख्ने, मेहनत गर्ने। हरेक कामलाई रचनात्मक ढंगले गर्न प्रयास गर्ने।
कस्तो काम उपयुक्त हुन्छ ? कसरी गर्दा बढी फलदायी हुन्छ ? त्यही ढंग अनुसार काम गर्ने। कसलाई भेट्ने, कसलाई नभेट्ने ? निर्धारण गर्ने । खराब वा निरास व्यक्तिहरुको संगतमा पुगेपछि हाम्रो उर्जा सेलाउँछ। हामी कमजोर र शिथिल हुन्छौं। त्यसैले जोशिला, उर्जावान्, सकारात्मक, कर्मठ, मेहनती, सिर्जनशिल साथीहरुको सर्कल बनाउने, त्यही सर्कलमा आफुलाई घुलनसिल बनाउने।
दैनिक तालिका नै अनुशासित भएमा हाम्रो लय विग्रदैन। जब जीवनमा लय हुन्छ, त्यसले धुन पैदा गर्छ। जीवन मधुर हुन्छ।
खानपानमा
खानपानमा हामीले धेरै लापरवाही गर्छौं। नखानुपर्ने खान्र्छौं, नखानुपर्ने समयमा खान्छौं। यहि कारण हामी रोगी हुन्छौं। हामी नेपालीको हकमा त यो कुरा अझ बढी लागु हुन्छ।
किनभने अधिकांश नेपाली पेटको रोगले ग्रस्त छन्। जबकी रोगको भण्डार नै पेट भएपछि शरीर कसरी स्वस्थ्य हुन्छ ?
चिल्लोचाप्लो, मसलेदार खानेकुरा खान्छौं। जंकफुड वा फास्टफुडमा रमाउँछौं। मैदाजन्य वा प्याकेटबन्द खानेकुरामा लोभिन्छौं।
कुन खानेकुरा शरीरका लागि आवश्यक छ ? कति आवश्यक छ ? यसबारे हामी कहिल्यै चिन्तन गर्दैनौं। बरु मिठो मसिनो खाने बाहना खोजिरहन्छौं। यस्तो अस्तव्यस्त खानपान शैलीले शरीरलाई रोगी बनाउँछ। यसर्थ खानपानमा पनि हामी अनुशासित हुनुपर्छ।
अर्थात खानपानको निश्चित तालिका निर्धारण गर्नुपर्छ। दिनमा कति पटक खाने, के के खाने भन्ने कुरा निर्धारण गर्नुपर्छ।
स्वास्थ्यमैत्री, सुपाच्य, स्वस्थ्यवर्द्धक खानेकुरा खानुपर्छ। यसका लागि पनि निश्चित समय मिलाउनुपर्छ। मिठो पाउनसाथ पेट चर्कनेगरी खाने, नमिठो भएमा खाँदै नखाने प्रवृत्तिले हामीलाई रोगी बनाउँछ। भनिन्छ, नि संसारमा जति मान्छे खान नपाएर मर्छन्, त्यो भन्दा बढी खान नजानेर।
हामीले अरुलाई देखाउनका लागि वा अरुको सामुन्ने सभ्य देखिन होइन, आफ्नै स्वास्थ्यका खातिर अनुशासित खानपान शैली अपनाउनुपर्छ।
अनुशासित सोंच-चिन्तन
हामी जस्तो खान्छौं, त्यस्तै हुन्छौं। जस्तो सोच्छौं, त्यस्तै देखिन्छौं। यदि हामी सकारात्मक छौं, खुसी छौं, उत्साहित छौं भने हाम्रो अनुहारमा बेग्लै आभा प्रकट हुन्छ। यदि निरास छौं, दुःखी छौं, नकारात्मक छौं भने अनुहारको रंग फुंग उड्छ।
अनुहारको भाव मात्र होइन, हाम्रो सोच चिन्तनले स्वास्थ्यमा पनि प्रभाव पार्छ। किनभने हाम्रो शरीर र हाम्रो सोंच चिन्तन अभिन्न रुपमा जोडिएको हुन्छ। सोंच वा चिन्तन कहाँबाट पैदा हुन्छ ? शरीरभित्रबाट नै त हो। शरीरभित्र मन हुन्छ। मस्तिष्क हुन्छ। त्यहाँ उब्जने कुराले शरीरमा प्रभाव पार्छ।
जस्तो हामीलाई डर लाग्छ भने हाम्रो शरीरमा कम्पन आउँछ। डर मनको कुरा हो, कम्पन शारीरिक कुरा हो। यसरी हाम्रो स्थुल शरीर र मन आपसमा जोडिएको हुँदा हामी जस्तो सोच्छौं, जस्तो चिन्तन गर्छौं, त्यसको प्रभाव शरीरमा पर्छ।
त्यसैले सकारात्मक सोचौं
भनिन्छ नि, स्वास्थ्यका लागि तीन कुरा अनिवार्य मानिन्छ। उचित आहार, उचित विचार र उचित विचार।