नयाँदिल्ली, माघ ११ । भारतीय टेलिभिजन अभिनेत्री सेजल शर्माले शुक्रबार आत्महत्या गरेकी छन्। प्रहरीका अनुसार उनले घरमा सुसाइड नोट पनि प्राप्त भएको छ।
सेजल शर्मा स्टार प्लसको सिरियल ‘दिल तो ह्याप्पी हे जी’मा अन्तिम पटक देखिएकी थिइन्। सिरियालमा सेजलले सिम्मी खोसलाको भूमिका निभाएकी थिइन्, जो मुख्य पात्रको बहिनीको भूमिका हो।
प्रहरी इन्स्पेक्टर सन्दीप कदमले सेजल शर्माको घरमा सुसाइड नोट प्राप्त भएको र त्यसमा नीजि कारणले आत्महत्या गर्नुपरेको लेखिएको बताए।
सेजलले सिरियल अघि भीवो मोबाइल र उषा पंखाजस्ता ब्राण्डका विज्ञापनमा अभिनय गरिसकेकी छन्। भीवोका विज्ञापनमा उनी आमिर खानसँग देखिइएकी थिइन् भने उषा पंखाको विज्ञापनमा उनी किक्रेटर रोहित शर्मा र हार्दिक पाण्डेसँग देखिएकी थिइन्।
यस अतिरिक्त सेजल शर्मा ‘आजाद परिन्दे’ नामक वेब सिरिजमा पनि काम गरिसकेकी छन्। उनले पहिलो पटक मोटोरोलाको विज्ञापनमा काम गरेर यस क्षेत्रमा प्रवेश गरेकी थिइन्।
राजस्थानको उदयपुरमा स्थायी घर भएकी सेजल शर्माको मृत्युमा विभिन्न टीभी कालाकारले शोक प्रकट गरेका छन्। यस अघि केही हप्ता अघि टीभी अभिनेता कुशल पन्जाबीले पनि आत्महत्या गरेका थिए।