काठमाण्डौं, माघ ११ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवाबीच मुलुकको समसामयिक राजनीतिक परिस्थितिका सन्र्दभमा छलफल भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफललमा नेताबीच मुलुक सञ्चालन गर्दा साझा सहमति र सहकार्यका आधारमा अगाडि बढ्न सहमति भएको छलफलमा सहभागि नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले जानकारी दिए। उनले मुलुक सञ्चालन गर्दा कतिपय कुरा प्रतिपक्षसँग पनि मिलेर गर्नुपर्ने भएकाले प्रधानमन्त्रीले प्रतिपक्ष दलका नेतासँग छलफल गरेको बताए।
“राज्य सञ्चालन गर्दा सत्तापक्ष र प्रतिपक्षबीच साझा सहमति आवश्यक हुन्छ, त्यही साझा सहमति खोज्न छलफल भएको हो”, उनले भने, “संसद् सञ्चालनदेखि राजनीतिक नियुक्तसम्म सबै सहमतिका आधारमा गर्ने सहमति भएको छ।” प्रधानमन्त्री ओलीले यसअघि सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगका पदाधिकारी नियुक्त प्रतिपक्ष दल काङ्ग्रेससँग छलफल गरेर मात्र गरेका थिए। रासस