मकवानपुर, माघ ११ । भीमविराग संगीत साहित्य कला प्रतिष्ठान नेपालले यसबर्षको तुलसीमाया शिवकुमारी स्मृति सृजनशील नारी पुरस्कार कवि तथा प्रगतिशील लेखक संघ नेपाल, मकवानपुरका अध्यक्ष शान्ति प्रियवन्दनालाई दिइने भएको छ। प्रतिष्ठानले १० हजार राशीकोे उक्त पुरस्कार प्रदान गर्ने भएको हो।
प्रतिष्ठानले यो वर्ष कवि शान्ति प्रियवन्दनासहित विभिन्न विदामा सातजनालाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ। विरागको ८६ औँ जन्मजयन्तीको अवसरमा माघ १५ गते पुरस्कार वितरण गर्ने न्युजक्लब नेपालमा पत्रकार सम्मेलनको आयोजक गरी प्रतिष्ठानले जानकारी गराएको हो।
पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका अध्यक्ष उज्वल शर्मा भण्डारीले यो वर्षको विजुलीमाया वन राष्ट्रिय पुरस्कार केही पछि हुने बताए। बागमती प्रदेश स्तरीय ५० हजार १ राशीको हर्षनर बज्राचार्य स्मृति सम्मान बरिष्ट संगितकार शुभबहादुर सुनामलाई दिने बताए।
प्रदेश स्तरीय यो पुरस्कारको राशी गतवर्ष २५ हजार थियो। त्यसैगरी भीम मथुरा बालप्रतिभा पुरस्कार आगमन कोइरालाई दिईने भएको छ। यो पुरस्कारको राशी ७ हजार ५ सय छ। त्यसैगरि यो वर्षको शिलानारी प्रतिभा पुरस्कार छमछमी विजेता सन्ध्या आचार्यलाई नगद १५ हजार राशी सहित दिईने भएको छ भने चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार ११ हजार १ सय ११ नगद सहित कवि छवी अनित्यलाई दिईने भएको छ।
त्यसैगरी मंगलादेवी श्रेष्ठ स्मृति स्वास्थ्य पुरस्कार स्वास्थ्यकर्मी सत्यदेवी जर्घालाई नगद १० हजार सहित पुरस्कृत हँदा अजित सेन गुप्ता स्मृति भिन्न क्षमता पुरस्कार प्रविण ग्वाच्छालाई १० हजार १ सहित सम्मान गरिने भएको छ।