माघ, १२ । टर्कीको पूर्वी क्षेत्रमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ। १४ सय भन्दा बढी घाइते भएका छन्।
केहीको अबस्था गम्भीर रहेको छ। भग्नावशेषमा पुरिएका ४३ जनाको उद्धार गरिएको छ। २० जनाको उद्धारको प्रयास भैरहेको अधिकारीहरुले अझै च्यापिएको अबस्थामा रहेको अधिकारीहरुले जनाएका छन्।
एलाजिग प्रान्तको सिभ्रिस शहरलाई केन्द्रविन्दु बनाएर हिजो ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पका कारण सयौ भवनहरुमा क्षति पुगेको छ। उद्धार र राहतका कामहरु भैरहेको छ।
भूकम्पको धक्का छिमेकी राष्ट्रहरु सिरिया, लेबनान र इरानमा पनि महसुस गरिएको थियो। भूकम्पपछि ४ सय भन्दा बढी पराकम्प गएको बताइएको छ।
भूकम्प गइरहने क्षेत्रमा पर्ने टर्कीमा सन् १९९९ मा गएको भूकम्पका कारण १७ हजार भन्दा बढीको मृत्यु भएको थियो। एजेन्सी