काठमाण्डौं, माघ १२ । नेपाली कांग्रेसका पाल्पाका पूर्वजिल्ला सभापति गम्भीरजङ्ग कार्कीको ७६ वर्षको उमेरमा निधन भएको छ।
मिर्गौला रोगबाट पीडित उनको आइतबार बिहान उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको नेपाली कांग्रेस पाल्पाका सचिव झपिन्द्र गैरेले जानकारी दिए।
उनले मिर्गौलाको डायलायसिस गराउँदै आएका थिए। पाल्पाको रम्भा गाउँपालिका–५ ताहूँमा विसं २००० मा जन्मेका उनी विसं २०४८ मा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
विसं २०५१ देखि २०५६ सम्म उनले कांग्रेस पाल्पाको जिल्ला सभापतिको जिम्मेवारी वहन गरेका थिए। रासस