माघ १२ । विमान निर्माता कम्पनी बोइङले विश्वको सबैभन्दा ठूलो ट्वीइन–इन्जिनसहितको जेट विमान ७७७ एक्सको सफल परीक्षण उडान गरेको छ। पहिलो परीक्षण उडान सफल भएको बोइङले जनाएको छ।
७३७ म्याक्स संस्करणका दुई विमान दुर्घटनामा ३४६ जनाको ज्यान गएपछि संकटमा परेको इज्जत उकास्ने पहिलो प्रयास हो यो बोइङको। विगत एक वर्षदेखि बोइङ ७३७ म्याक्स संस्करणका विमान विश्वभर ग्राउण्डेड छन्।
बोइङको नयाँ जेट विमान ७७७ एक्सको परीक्षण उडान अमेरिकाको सियाटलबाट सुरु भएको थियो। सो विमानले चार घण्टाको उडान भेरेर सफल अवतरण गरेको हो। यसअघि यहि हप्ता यो विमानको परीक्षण उडान तीव्र गतिको हावाका कारण दुई पटक स्थगित गरिएको थियो।
यो विमानले आउँदो वर्षदेखि इमिरेट्स एयरमार्फत व्यवासयिक उडान सुरु गर्दैछ। त्यसअघि विभिन्न चरणमा परीक्षण उडान हुनेछन्।
२५२ फिट लामो जेट विमान यहि वर्ष व्यवसायिक प्रयोजनका लागि प्रस्तुत गर्ने तयारी थियो तर केही प्राविधिक समस्या देखिएपछि अर्को वर्षका लागि सारिएको हो।
बोइङको सफल ७७७ मिनी–जम्बो विमान भन्दा ७७७ एक्स ठूलो र बढी किफायती । यो विमानको सिट क्षमता ३६० रहेको छ। यसको प्रतिस्पर्धा एयरबसको ए ३५०–१००० विमानसँग हुनेछ।