काठमाण्डौं, माघ १२ । अग्नि सापकोटालाई सभामुख नबनाउन अन्तरिम आदेशको माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटको सुनुवाइ न्यायाधीश हरि फुयालको एकल इजलासमा तोकिएको छ।
त्रिपाठीले शुक्रबार सापकोटालाई तत्काल पक्राउ गरी उनीमाथि लागेको अभियोगमा छानबिन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेरले फुयालको एकल इजलासमा मुद्दाको पेशी तोकेका हुन्। काभ्रेका अर्जुन लामाको हत्या आरोप लागेका सापकोटामाथि यसअघि सर्वोच्चले घटनाको छानबिन गर्न आदेश दिएको थियो। माघ ७ गते सभामुखमा सापकोटाको एकल उम्मेदवारी परेपछि उनका विरुद्ध मानव अधिकारकर्मीले सडकमै उत्रेर विरोध जनाइ रहेका छन्।
माओवादी युद्धका बेला २०६२ वैशाख १६ गते काभ्रेको छत्रबाँझस्थित कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लामालाई अपहरण गरेर हत्या गरेको आरोप सापकोटामाथि छ।
सापकोटालाई आइतबार दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकले सभामुखमा निर्विरोध निर्वाचत भएको घोषणा गर्दैछ। अधिकारकर्मीहरुले संसद बैठक बस्नुअघि नै सर्वोच्चको आदेशबाट सापकोटालाई रोक्ने प्रयास गरेका छन्।
सर्वोच्च प्रशासनका अनुसार एक इजलासको पहिलो नम्बरमै मुद्दाको पेशी परेकाले कार्यालय खुल्ने वित्तिकै सुनुवाइ सुरु हुनेछ। आइतबार फुयाललाई अर्को इजलास तोकिएको छैन।