काठमाण्डौं, माघ १२ । दक्षिणपूर्वी ब्राजिलमा पछिल्लो दुई दिनदेखि जारी भारी वर्षापछि आएको बाढी र पहिरोमा अहिलेसम्म ३० जनाको मृत्यु भएको छ भने १७ जना हराइरहेका छन्। राहत र उद्दारकार्यमा जुटेका नागरिक सुरक्षा दलका अनुसार मिनास गैरेस राज्यमा भारी वर्षापछि साढे तीन हजार व्यक्तिलाई सुरक्षित स्थानमा पर्याइएको छ।
सुरुवातमा मृत्यु हुनेको संख्या ११ थियो। तर शनिबार यो आँकडा बढेको छ। धेरैजसो मृत्यु राजधानी बेलो हरिजोन्टेमा भयो। मौसम विभागका अनुसार यो शहरमा शुक्रबार पछिल्लो १ सय १० वर्षको वर्षाको रेकर्ड तोडेको छ। यहाँ पछिल्लो २४ घण्टामा १७१.८ मिलिमिटर वर्षा मापन गरिएको छ। त्यसपछि पहिरोमा थुप्रै भवन भत्किएका छन्। यसमा पुरिँदा धेरैको ज्यान गएको छ। एजेन्सी