काठमाण्डौं, माघ १२ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीचको छलफल सकिएको छ।
दुवै अध्यक्षबीच आइतबार बिहान ८ बजेदेखि छलफल शुरु भएको थियो। दुई अध्यक्षबीच शान्तिप्रक्रियाको पूर्णता तथा द्वन्द्वकालीन मुद्दा, उपसभामुखको चुनाव, केन्द्रीय कमिटीको बैठक लगायत विषयमा छलफल भएको जनाइएको छ।
प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार दुवै नेताबीच माघ १५ गतेदेखि हुने गरी तय भएको केन्द्रीय कमिटी बैठकको विषयमा केन्द्रित रहेर छलफल भएको छ।
यस्तै, उपसभामुखको निर्वाचन र द्वन्द्वकालीन मुद्दा तथा विभिन्न निकायमा पदाधिकारी नियुक्तिका विषयमा पनि अध्यक्षहरुबीच छलफल भएको जनाइएको छ।
नेकपाले सभामुखको उम्मेदवारका रुपमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद तथा स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई उम्मेदवार बनाएको छ। सभामुखमा एकल उम्मेदवारी परेका कारण सापकोटा आइतबारको प्रतिनिधि सभाको बैठकबाट निर्विरोध रुपमा सभामुखमा चयन भएको घोषणा हुने छ।
संवैधानिक व्यवस्थाअनुसार उपसभामुखमा नेकपाले उम्मेदवार उठाउन मिल्दैन। उपसभामुखका लागि नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले जोड गरिरहेका छन्।
आइतबार दुई नेताबीच उपसभामुखमा कुन दललाई समर्थन गर्ने भन्ने विषयमा छलफल भएको जनाइएको छ।