काठमाण्डौं, माघ १२ । भोजपुरी सिनेमा तथा गायन क्षेत्रका चर्चित कलाकारहरु फागुन पहिलो साता नेपाल आउने भएका छन्।
कलाकारहरु दिनेशलाल यादव’निरहुआ’, अम्रपाली दुबे तथा ईन्दु सोनाली सांस्कृतिक कार्यक्रममा प्रस्तुतिका लागि नेपाल आउने भएका हुन्। निरहुआ भारत, उत्तर प्रदेशका वासिन्दा हुन्।
रौतहटको मौलापुर नगरपालिका ५, पतौरास्थित पुरातात्त्विक महादेव मन्दिरको प्राङ्गणमा फागुन ५ र ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा मधानी महायज्ञ २०७६ को आयोजना हुन गइरहेको छ।
मौलापुर नगरपालिकाले आयोजना गरेको सो महायज्ञको अवसरमा हुने सांस्कृतिक कार्यक्रममा उनीहरुको प्रस्तुति रहने महायज्ञको सह-आयोजक एसराज प्रोडक्सन्सले जनाएको छ।
कलाकारत्रय निरहुआ, दुबे तथा सोनालीले सांस्कृतिक कार्यक्रममा सहभागी हुन पाउनु आफुहरुका लागि खुशीको क्षण भएको प्रतिक्रिया दिएका छन्।