चितवन, माघ १२ । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नम्बर ३ का वडा सदस्य तोयानाथ सुवेदीको निधन भएको छ।
क्यान्सर रोगबाट पीडित सुवेदीको शनिबार अपरान्ह उनको आफ्नै निवासमा निधन भएको वडा अध्यक्ष पूर्णबहादुर गुरुङले बताए। वडा सदस्य सुवेदीको निधनमा आइतबार एक दिन खैरहनी नगरपालिका र नगरपालिका अन्र्तगतका सबै वडा कार्यालयको सेवा बन्द गरिएको छ।
आइतवार बिहान खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीको अध्यक्षतामा बसेको कार्यपालिकाको आकस्मिक बैठकले एक दिन कार्यालय र यस अन्र्तगतका वडा कार्यालय बन्द गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता रामशरण पाण्डे जानकारी दिए। नगरपालिका कार्यालय र वडा कार्यालयबाट प्रवाह हुने सेवा बन्द हुँदा सेवाग्राहीमा पर्न जाने असुविधा प्रति नगरपालिकाले क्षमा पनि मागेको छ। साथै खैरहनी ३ को वडा कार्यालयमा तीन दिन राष्ट्रिय झन्डा आधा झुकाउने समेत निर्णय भएको छ।