काठमाण्डौं, माघ १२ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले आफूहरुलाई उपसभामुख पदको बार्गेनिङका लागि सभामुखमा उम्मेदवारी नदिएको भनि लगाइएको आरोप निराधार रहेको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा सभामुख उम्मेदवारीबारे कांग्रेस संसदीय दलले गरेको निर्णय पढेर सुनाउँदै रिजालले उपसभामुखका लागि कांग्रेस कमण्डलु बोकेर नआउने बताए।
उनले संसदीय दलले गरेको निर्णय पढेर सुनाउँदै त्यसभन्दा घटि र बढी अरु केही नभएको बताए।
उनले सभामुख र उपसभामुख फरक दल र लिंगको हुने कुरा संविधानमा लेख्दा कताबाट खोजेर दिँदा सत्तालाई सजिलो हुन्छ भन्ने आशयका साथ नलेखिएको बताए।
‘संविधानमा लेखिएको विषयको स्वभाविक मर्म र भाव नेकपाले बुझ्ला नबुझ्ला, अथवा बुझेर पनि बुझ पचाउला त्यो उक्त पार्टीको विषय हो तर कांग्रेस कमण्डलु बोकेर माग्दैनँ। हामीसँग मत पनि छैन’, रिजालले भने।
उनले विगतमा हामी फरक पार्टी भए पनि एक हुने प्रक्रियामा रहेको भन्दै प्राविधिक व्याख्या गरेर गलत गरिएको प्रसंग सुनाए।
‘तर अब यो फेरिनुपर्छ। कांग्रेसले अदालतमा रहेको मुद्दालाई प्रभावित गर्न खोज्यो भनिन्छ। हाम्रो के संख्या छ र ? बेला बेलामा भन्ने गरिएकै छ, मैले सम्झाइराख्नु पर्दैन। हिजो गलत काम भएको थियो। अब त्यो हुनु हुँदैन’, उनले भने।
यो घटनाले नेकपालाई केही शिक्षा नभए पनि कांग्रेसले शिक्षा लिएको उनले बताए।
‘पुष ४ देखि माघ १२ सम्म संसद चलेन। त्यसले नेकपालाई केही शिक्षा भा’छ छैन त्यो उसैले जानोस् हामीलाई भएको छ। व्यक्तिको बारेमा हाम्रो मत थिएन। पक्ष र विपक्षमा बोल्न चाहदैनौँ। महिला सशक्तिकरणको आवाज बलियो छ कुनामा पन्छाएर राख्न पाइँदैन’, उनले भने।
नेता रिजालले अग्नि सापकोटाको नाम सभामुखका लागि चर्चामा आइरहँदा लोकतन्त्रका लागि सँगै लडेकाहरु कोही अदालत र कोही सडकमा रहेको भन्दै उनीहरुले लोकतन्त्रका लागि विगतमा गरेको बलीदानी कसैले भुल्न नहुने बताए।
‘कोही अदालत पुग्नुभएको छ, कोही सडकमा हुनुहुन्छ। बलीदानी दिने साथीहरुलाई हामी बिर्सन सक्दैनौँ। आशंकाहरु छन्। नागरिक समाजका व्यक्तिहरु सडकमा छन्। आम नागरिकले एउटा शंकाको कुरा गर्नुभाछ। त्यसलाई शान्त पार्न सक्नुहुन्छ कि सक्नुहुन्न, भोलि व्यवहारले देखाउनुहोला’, रिजालले भने।