बुटवल, माघ १३ । गुल्मी र पाल्पामा फोनका टावरमा आगजनी भएको छ। गुल्मीको धुर्कोट गाउँपालिका ६ धुर्कोट रजस्थलमा रहेको टावरमा गएराति आगजनी भएको हो। करिब पाँच वर्षदेखि धुर्कोटकोट नजिकै स्थानीय कमल थापाको बारीमा स्मार्ट फोनको टावर संचालन भएको वडाध्यक्ष कृष्ण बहादुर नेपालीले बताए।
घटनास्थलमा वस्तु प्रहरीचौकीबाट असई लोकमान ताम्राकारको टोली पुगिसकेको छ। ताम्राकारका अनुसार राती करिब ११ बजे आगो लागेको हो। टावरको ओडिबक्स पूर्ण रुपमा जलेकाले स्मार्ट फोनको नेटवर्क पूर्णरुपमा अवरुद्ध भएको छ।
घटनाका विषयमा प्रहरी प्रशासनलाई जानकारी भइसकेकोले कसले आगो लगाएको हो भन्ने विषयमा थप अनुसन्धान अगाडि बढ्ने गाउँपालिका प्रमुख भुपाल पोख्रेलले बताए।
कोटमा अन्य संचार माध्यमका टावर तथा संचार उपकरण भएपनि कुनै क्षति नभएको पोख्रेलले बताए। यस्तै पाल्पाको बगनासकाली गाउँपालिका ९, बगनासमा रहेको एनसेल टावरमा आगजनी भएको छ।
आइतबार बेलुकी ९ः४५ को समयमा बगनासको टावरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख दिपेन्द्र जिसीले बताए। आगजनीका कारण टावर पूर्ण रुपमा जलेर ध्वस्त भएको छ।
आगजनीको कारण टावरको जेनेरेटर, विटिएस सिस्टम, जिएसएम एन्टेना, ब्याट्री प्यानल, मिटर बक्ससहित तार पूर्णरुपमा जलेको छ।