काठमाण्डौं, माघ १३ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जातीय मुक्ति र जातीय साम्प्रदायिकताको विषयलाई एकै ठाउँमा गोलमाल गर्दा नेपालमा सामाजिक न्याय कमजोर बनेको बताएका छन्।
सोमबार नेकपाको भातृ संगठन आदिवासी जनजाति महासंघ नेपालको सपथ समारोहमा अध्यक्ष प्रचण्डले कम्युनिस्टले भनेको जातीय मुक्ति जातीय साम्प्रदायिकता र जातीय संकीर्णताभन्दा भिन्न रहेको जिकिर गरे।
नेपालमा जातीय मुक्ति र वर्गीय मुक्ति अन्तरसम्बन्धित रहेको भन्दै उनले यसलाई सही ढंगले परिभाषित गर्न नसकिएको बताए। ‘यो समानताको, मुक्तिको विषय हो’ उनले भने ‘वर्गीय मुक्ति र जातीय मुक्तिको अन्तरसम्बन्धलाई ठीक ढंगले परिभाषित गरेर अघि बढिदैन, तबसम्म न जनवादी क्रान्तिले पूर्णता प्राप्त गर्ने न समाजवादी क्रान्तिको तयारी राम्रोसँग हुन्छ।’
प्रचण्डले नेपालको संविधानमा केही परिवर्तन गर्नुपर्ने देखिए पनि जातीय समानताका लागि धेरै विषय संबोधन भएको पनि बताए। ‘संविधानले उपलब्धीको रक्षा गर्ने र निरन्तर अघि बढ्ने ठाउँ दिएको छ’ उनले भने।
शोषण उत्पीडनमा राखिएकाहरुलाई विशेष अधिकारसहित अगाडि ल्याउने बातावतारण नबनाएसम्म समानताको कुरा गर्नु भ्रममात्र हुने प्रचण्डको भनाइ छ।