काठमाडौं, माघ १४ । सामाजिक सञ्जालमा चर्को विरोध भएपछि गायिका आस्था राउतलाई प्रक्रिया पूरा गरेर आजै रिहा गर्न नेकपाका नेता तथा सांसदहरुले दबाव दिन थालेका छन्। काठमाडौं जिल्ला प्रशासन कार्यालयले गायिका राउतलाई ४ दिन हिरासतमा राख्ने अनुमति दिएपछि नेकपाका नेता तथा कार्यकर्ताहरु मात्र नभई आम सर्वसाधारणले नै सामाजिक सञ्जालमार्फत आस्था राउतमाथि प्रहरीले अनावश्यक ज्यादती गरेको बताउँदै आएका छन्।
तर, नेकपाका नेता तथा कार्यकर्ताले भने सरकारलाई बदनाम गराउने गरी प्रहरी र प्रशासनले निरन्तर विवादास्पद गतिविधि गर्दै आएको भन्दै गायिका राउतलाई छाड्न दबाब दिन थालेको स्रोतले बताएको छ। पूर्वमन्त्री तथा नेकपा प्रदेश ३ का सचिव आनन्द पोखरेलले राष्ट्रिय कलाकार आस्था राउतले कमी कमजोरी महसुस गरिसकेपछि पनि हिरासतमा राख्नु उचित नभएको भन्दै प्रक्रिया पूरा गरेर आजै हिरासतमुक्त गर्न माग गरे।
दोलखाबाटै पटक पटक निर्वाचित भएका पोखरेलकै निर्वाचन क्षेत्रकी मतदाता हुन् आस्था राउत। पोखरेलले आस्था राउतको गल्ती थुनामा राखेर अनुसन्धान गर्नुपर्ने तहको नभएको भन्दै प्रहरी प्रशासनले विवेक पुर्याउनुपर्ने बताएका छन्।
त्यस्तै नेकपा सांसद तथा अनेरास्ववियुकी पूर्वअध्यक्ष नविना लामाले पनि आस्था राउतमाथि प्रहरीले अन्याय गरेको भन्दै माफी मागिसकेपछि हिरातसमा राख्नुले पटक पटक सरकारलाई बदनाम गराउने काम प्रहरीबाट भएको टिप्पणी गरेकी छन्।
नेकपा केन्द्रीय सदस्य तथा युवा संघका अध्यक्ष रामप्रसाद सापकोटाले पनि आस्था राउतलाई माफी मगाएरसम्झाएर घर पठाउनुपर्ने भन्दै प्रहरीले आस्थामाथि उठाएको कदममा सहमत हुन नसक्ने बताएका छन्।
गायिका आस्था राउत अस्पताल भर्ना
पछिल्लो समय चर्चामा रहेकी गायिका आस्था राउतलाई त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा भर्ना गरिएको छ। गायिका राउतको स्वास्थ्यमा समस्या देखिएपछि सोमबार साँझ नै हिरासतबाट अस्पतालमा लगिएको हो।
‘हाइपर टेन्सनका कारण समस्या भएपछि उहाँलाई अस्पताल लगिएको हो’, काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले भने। गायिका राउतलाई माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा प्रहरी जवान रमिता श्रेष्ठसँग भनाभन भएको भएको विषयमा राउतले आफ्नै ‘फेसबुक लाइभ’मा प्रहरी विरूद्द बोलेको भन्दै प्रहरी जवान श्रेष्ठले किटानी जाहेरी दिएपछि पक्राउ पूर्जी जारी गरेको थियो।
भारतको सिक्किममा आयोजित कार्यक्रममा सहभागी भई नेपाल फर्किएपछि सोमबार बिहानै अभिभावकसहित टेकु प्रहरीसमक्ष आफैँ उपस्थित भएकी थिइन्। त्यसपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौं उपस्थित गराइएकी उनीमाथि अनुसन्धानका लागि चार दिन हिरासतमै राख्ने अनुमति पाएको थियो।
तर, सामान्य विषयमा पक्राउ पूर्जी जारी गरेर कलाकारमाथि अन्याय गरेको भन्दै सामाजिक सञ्चालमार्फत प्रहरी र जिल्ला प्रशासन काठमाडौँमाथि चर्को आलोचना भइरहेको छ।