माघ १५ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार प्रजातान्त्रिक पार्क उद्घाटन गरेकी छिन्। राष्ट्रपति भण्डारीले पार्कमा निर्माण गरिएको नेपाली काँग्रेसका संस्थापक नेता तथा पहिलो जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, लौहपुरुष गणेशमान सिंह र पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको पूर्णकदको प्रतिमा अनावरण गर्नु भएको थियो। राष्ट्रियता, लोकतन्त्र र जनताको जनजीविकाका लागि भएका आन्दोलनमा अग्रणी एवं नेतृत्वदायी भूमिका निर्वाह गरेका चार शीर्ष नेताको सम्मानमा हेटौंडा उपमहानगर–११ मा पार्कसहित सालिक निर्माण गरिएको हो।
मंगलबार उद्घाटन गरिएको प्रजातान्त्रिक पार्क परिसरमा पानीको फोहरा, बँगैचा, विश्रामस्थल लगायतका मनमोहक संरचना निर्माण गरिएको छ। शहीद स्मारकमा एउटै ढुङ्गामा १२ जना शहीदको मुखाकृति कुँदिएको स्मारक, शहीद स्मृति स्तम्भ, शहीद ग्यालरी, मदन स्मारक, थाहा स्तम्भ, पर्यटक सूचना केन्द्र, बाल उद्यान, नर्सरीलगायतका पर्यटक आकर्षणका स्थलहरु रहेका छन्।
स्मारक विकास समितिका अनुसार करिब डेढ करोड रुपैयाँ लागतमा प्रजातान्त्रिक पार्क निर्माण गरिएको हो।