काठमाण्डौ, माघ १५ । सत्तारुढ नेकपाको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। राष्ट्रिय सभा गृहमा बिहान ११ बजेबाट बैठक सुरु भएको हो।
पार्टी एकीकरण भएको २० महिनापछि दोस्रो पटक बस्न लागेको बैठकमा साविकको नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच एकतापछिको एजेण्डा तय भएर बैठक बस्न लागेको हो।
नेकपाको केन्द्रीय कमिटिमा ४४१ सदस्य रहनु भएको छ। केन्द्रीय कमिटीको बैठकका लागि पार्टी कार्यालयमा स्थान अभाव भएपछि राष्ट्रियसभा गृहमा बैठक डाकिएको थियो। बैठकमा केन्द्रीय कमिटी र आमन्त्रित स्थायी समिति सदस्यहरु सहभागी हुने नेकपाले जनाएको छ।
गत वर्ष जेठ ३ गते पार्टी एकीकरण एक सातापछि जेठ १० गते प्रधानमन्त्री निवास बालुवाटारमा पहिलो केन्द्रीय कमिटी बैठक बसेको थियो। उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालले मात्र सम्बोधन गरेका थिए। तर आगामी आइतबारसम्म चल्ने बैठकमा केन्द्रीय सदस्यहरुले खुला रुपमा छलफल गर्न पाउने भएपछि केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्नेछन्।
यी हुन् बैठकका सात एजेण्डा
१) शहीदहरूप्रति श्रद्धाञ्जली ।
२) बैठकको उद्घाटन र उद्घाटन मन्तव्य (प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली)।
३) राजनीतिक प्रतिवेदन प्रस्तुति (अध्यक्षद्वयका तर्फबाट कार्यकारी अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड) ।
४) संगठनात्मक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव प्रस्तुति (महासचिव विष्णुप्रसाद पौडेल) ।
५) सात वटै प्रदेशका अध्यक्षहरूद्वारा संगठनातमक कामको रिपोर्टिङ।
६) समसामयिक प्रस्तावहरूको प्रस्तुति।
७) विविध।