चितवन, माघ १५ । राप्ती नगरपालिकाले पहाडी क्षेत्रमा बसोबास गर्ने २० विद्यालयका दुई हजार ८०० बालबालिकालाई स्वीटर वितरण गरेको छ। नगरपालिकाको वडा नं १०, ११, १२ र १३ का विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वीटर वितरण गरिएको हो।
नगर प्रमुख प्रभा बरालका अनुसार नगरपालिकाले बजेट विनियोजन गरी रु आठ लाख ६७ हजारको स्वीटर खरिद गरी वितरण गरेको हो। सो क्षेत्रमा ६० प्रतिशतभन्दा बढी चेपाङ समुदाय बसोबास गर्दछन्। विगत वर्षमा ती विद्यार्थीलाई देखाएर आर्थिक सङ्कलन गरी केही रकमको स्वीटर किनेर दिए पनि सबैले पाउन सकेका थिएनन्।
प्रमुख बरालले यिनै विद्यार्थीलाई देखाएर आर्थिक चलखेल र दरिद्र बनाउने गरेपछि आफूले कसैलाई पनि स्वीटर बाँड्न नदिएर नगरपालिकाले नै स्वीटर दिएको बताए।
सो क्षेत्र जिल्लाको पहाडी ग्रामीण क्षेत्र हो। पहिले पहिले नयाँ मान्छे स्कूल क्षेत्रमा पुगेपछि विद्यार्थी भाग्ने गर्दथे तर पछिल्ला वर्षहरुमा विकास हुँदै गएपछि स्थानीयको जीवनस्तरमा सुधार हुँदै आएको छ। रासस