माघ, १५ । धेरै बालबालिकालाई घरको खाना ख्वाउन निकै सास्ती हुन्छ, आमाबुवालाई। फकाइफुल्याई खाना ख्वाउनुपर्ने अवस्था हुन्छ। बालबच्चाले घरको खाना रुचाउँदैनन्। सागसब्जी खानै मान्दैनन्। सलाद खादैनन्। उनीहरुलाई चाउचाउ, चिप्स, कुरकुरे वा बजारको खानेकुरामा बानी परिसकेको छ।
जब घरमा पाकेको खानेकुरा खान रुची गर्दैनन्, उनीहरु जंक फूडले पेट भर्न थाल्छन्। जब भोक लाग्छ उनीहरुलाई जंकफूडको तलतल लाग्न थाल्छ। यसरी खराब खानपानको कारण उनीहरुमा पोषक तत्वको कमी हुँदैछ। अतः आफ्ना बालबच्चाले राम्ररी खाना नखाएकोमा, सागसब्जीमा बानी नपरेकोमा आमाबुवा चिन्तित हुन्छन्।
जबकी सानो बच्चालाई शारीरिक तथा मानसिक विकासको लागि सन्तुलित खानपानको आवश्यक्ता हुन्छ। तर, बच्चाले खान मान्दैनन्। अझ सागपातमा उनीहरुलाई अभ्यस्त गराउन गाह्रो हुन्छ। उनीहरुको शरीरलाई आवश्यक सबै पोषक तत्व प्राप्त हुने खानेकुरा खाँदैनन्। बरु, अस्वस्थ्यकर खानेकुरामा उनीहरु लोभिन्छन्। चकलेट, मीठाई, जंकफूडमै बढी जोड दिन्छन्। तर, ताजा फलफूल, सब्जी, दही, दुध रुचाउँदैनन्।
जिब्रोमा स्वाद भिज्नुअघि
बच्चालाई त्यही उमेरदेखि स्वस्थ्यबर्द्धक खानेकुरामा अभ्यस्त गराउनुपर्छ, जतिबेला उनीहरुको जिब्रोमा अन्य खानेकुराको स्वाद भिजेको हुँदैन।
जाउलोमा सागपात
बच्चाले खाने जाउलोमा सागपात मिसाउने, फलफूलको जुस बनाएर ख्वाउने गर्नुपर्छ।
सानैदेखि पोषिलो खानामा बानी
बच्चाको खानामा सब्जी, फल, दाल, सलाद समावेश गर्नुपर्छ। सानैदेखि उनीहरुलाई चिल्लो, तारेको, मसलेदार खाना बानी पार्नु हुँदैन।
सजाएर दिने
खानेकुरा राम्ररी सजाएर सर्भ गर्नुपर्छ, यसले पनि उनीहरुलाई लोभ्याउँछ।
जबरजस्ती नगर्ने
बच्चालाई खाना ख्वाउनका लागि प्रोत्साहित गर्नुपर्छ, जबरजस्ती गर्ने होइन।
भान्साको काम लगाउने
यदि बुझ्ने अवस्थाका बच्चा छन् भने उनीहरुलाई भान्सामा लगेर खानेकुरा पकाउने काममा सहभागी गराउनुहोस् । यसले उनीहरु खुसी हुन्छन् । साथै आफैले बनाएको खानेकुरा खाने रहर पनि जाग्छ।
बच्चाको राय माग्ने
खाना पकाउनुअघि कस्तो खाने भनेर बच्चाको राय पनि लिनुपर्छ। यसैगरी साप्ताहिक तालिका बनाएर हरेक दिन नयाँ किसिमको खानेकुरा तयार गरियो भने राम्रो हुन्छ।
खानेकुरा किनमेल गर्दा बच्चालाई सामेल
खानेकुरा किनमेल गर्नका लागि पनि बच्चालाई सहभागी गराउनुपर्छ। उनीहरुलाई सब्जी छनौट गर्न लगाउने र खरिद गरिदिने गर्नुपर्छ। आफुले खरिद गरेको खानेकुरा खान उनीहरु रमाउँछन्।
घरको खानेकुरा आवश्यक
घरको खानेकुरा स्वस्थ्यवर्द्धक, सफा, ताजा हुन्छ। यद्यपी खाना बनाउने क्रममा त्यो बच्चाका लागि कति उपयोगी छ भन्ने कुरामा ख्याल गर्नुपर्छ। खानेकुरा तयार गर्दा बच्चाको स्वाद र स्वस्थ्यलाई ध्यान दिनुपर्छ। बच्चाको खानामा पर्याप्त पोषक तत्व हुनुपर्छ।