काठमाण्डौं, माघ १५। चीनमा कोरोना भाइरसको संक्रमण बढेपछि रसुवागढी र तातोपानी नाकाबाट पर्यटकको आवागमन १५ दिनलाई बन्द गरिएको छ।चिनियाँ पर्यटकको आवातजावतबाट भाइरसको संक्रमण फैलिनसक्ने भएकाले पर्यटकको आवागमन रोकिएको हो।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भने, ‘अहिले बाटो पनि अफ्ठ्यारो छ, त्यसैले दुई देशकै सहमतिमा १५ दिनलाई आवातजावत बन्द गरिएको हो ।’ चीनमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म एक सय भन्दा बढीको मृत्यु भइसकेको छ भने ५ हजार भन्दा बढीमा संक्रमण भएको छ।
कोरोना भाइरस मानिसबाट मानिसमा सजिलै सर्ने भएका कारण चीनबाट नेपाल आउने पर्यटकको आवागमन बन्द गरिएको हो। हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य सीमामा चिनियाँ पर्यटकलाई स्वास्थ्य परीक्षण गरेर मात्र भित्र्याइने गरिएको थियो। स्थल मार्गबाट आउने चिनियाँलाई भने प्रवेशमा रोक लगाइएको थिएन।