काठमाण्डौं, माघ १६ । नेपालका ग्लोबल आइकन सन्दीप लामिछानेले आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गतको पहिलो त्रिकोणात्मक सिरिजमा विकेट (पीच) को कारण नेपालले छुट नपाउने बताएका छन्।
नेपाली टिम लामो समयबाट त्रिवि मैदानको विकेटमा अभ्यस्त रहेको भन्दै सन्दीपले विकेटको कारण खेलमा छुट नहुने बताएका हुन्। घरेलु मैदानमा नियमित अभ्यासमा रहेको कारण नेपालले बलिङ र ब्याटिङ दुवैमा फाइदा उठाउन पर्ने सन्दीपले बताए।
विश्वकप छनोट अन्तर्गत रहेको लिग-२ को पहिलो सिरिज नेपालले घरेलु मैदानमा अमेरिका र ओमानसँग खेल्दैछ। लिग मात्र नभएर नेपालले पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेल घरेलु दर्शक सामु पहिलो पटक खेल्न लागेको हो।
एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएको दुई वर्षपछि नेपालले घरेलु भूमिमा एकदिवसीय खेल्न लागेको हो।
लिग माघ २२ देखि २९ सम्म त्रिवि क्रिकेट मैदानमा हुँदैछ। नेपालले पछिल्लो ३ सातादेखि सिरिजका लागि अभ्यास गरिरहेको छ। पहिलो एकदिवसीय तथा लिगको महत्वपूर्ण खेल भएको कारण नेपाल घरेलु भूमिमा अंक गुमाउन चाहदैन।
यस्तै नेपालका पूर्व कप्तान पारस खड्काले त्रिवि मैदानमा नेपालको रेकर्ड राम्रो रहेको बताउँदै त्यसलाई निरन्तरता दिने बताए। एकदिवसीय अन्तराष्ट्रियमा एक मात्र शतक प्रहार गर्ने खेलाडी पारस खड्काले त्रिवि मैदानमा नेपालले रेकर्ड राम्रो रहेको बताएका छन्।
नेपालले अमेरिका र ओमानसँग खेल्ने खेल तालिका:
माघ २२: नेपालविरुद्ध ओमान
माघ २३: ओमानविरुद्ध अमेरिका
माघ २५: नेपालविरुद्ध अमेरिका
माघ २६: नेपालविरुद्ध ओमान
माघ २८: अमेरिकाविरुद्ध ओमान
माघ २९: नेपालविरुद्ध अमेरिका