बुटवल, माघ १६। रुपन्देहीमा बोराले किचेर एकै परिवारका चार जनाको ज्यान गएको छ।
बोराको थुप्रोले किच्दा भारत बिहारका ३० बर्षीय सहजाद हुसेन, उनीकी श्रमती २८ बर्षीया सद्धव खातुन, ६ बर्षीय छोरा सुल्तान रजा र २ बर्षीया छोरी सहिना खातुनको मृत्यु भएको हो।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका बडा नम्बर ६ गल्लामण्डी पिपरहियामा आफैंले संकलन गरेर राखेको बोराले थिचेको अवस्थामा उनीहरुलाई बिहान मृत फेला पारिएको थियो।
घरको सटरभित्र तीन तर्फका भित्तामा बोराको चाङ र बीचको साँघुरो ठाउमा सुतिरहेका उनीहरुमाथि बोरा चिप्लिएर खस्दा सास फेर्न नसकेर निसास्सिएर मृत्यु भएको प्रहरीको आशंका छ।
प्रहरीका अनुसार हुसेन परिवारले बिगत १५/२० बर्षदेखि कवाडीका बोरा जम्मा गर्ने र बोरा सिलाएर बिक्री वितरण गर्दै आएका थिए। उनीहरुको शव पोस्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको छ।