माघ १६ । चीनमा १३२ जना भन्दा धेरैको ज्यान लिइसकेको नोभेल कोरोना भाइरस भारतमा पनि देखा परेको छ।
भारतको दक्षिणी राज्य केरलाका एक नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ। भारतका संघीय स्वास्थ्य मन्त्रीका अनुसार चीनको उहानबाट फर्किएका एकजना विद्यार्थीमा बिहीबार गरिएको स्वास्थ्य परीक्षणका क्रममा रिपोर्ट पोजिटिभ आएको हो।
हिन्दुस्तान टाइम्सका अनुसार कोरोना भाइरस संक्रमित ती विद्यार्थीको अवस्था स्थिर रहेको छ। भारतले चीनमा फैलिएको कोरोना भाइरसको आठवटा स्याम्पलको परीक्षण गरेको थियो। चीनमा गत डिसेम्बरदेखि फैलिएको कोरोना भाइरस नेपालसहित २० बढी देशमा फैलिसकेको छ।
यसैबीच चीनसँग समुद्रीनिकटता रहेको फिलिपिन्समा पनि कोरोना भाइरसका पहिलो बिरामी भेटिएका छन्। त्यहाँका स्वास्थ्यमन्त्रीका अनुसार देशमै पहिलो पटक कोरोना भाइरसका बिरामी भेटिएका हुन्।
फिलिपिन्सका स्वास्थ्य सचिव फ्रान्सिस्को ड्युकेले सञ्चारमाध्यमलाई बताए अनुसार चीनबाट २३१ जनवरीमा आएकी ३८ वर्षीया महिलामा कोरोना भाइरस देखिएको हो। ती बिरामी महिलाको सरकारी अस्पालमा राखेर उपचार भइरहेको उनले बताएका छन्।